
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर रिलायन्स जियो इन्फोकमले आईआईटी बम्बेसँग एआई च्याटबोटमा काम गरिरहेको जनाएको छ। कम्पनीका अध्यक्ष आकाश अम्बानीले कम्पनीको वार्षिक टेकफेस्टमा आईआईटी बम्बेसँग एआई च्याटबोटमा काम गरिरहेको र यसले च्याटजीपीटी जस्तै काम गर्ने बताएका हुन्।
कम्पनीले २०१४ देखि भारतजीपीटीमा काम गरिरहेको र सबै भाषा मोडेलबाट प्रेरणा लिएर तयार पारिएको उनले बताए । तर, यो च्याटबट कहिले लन्च हुने भन्नेबारे उनले कार्यक्रममा जानकारी दिएनन् ।
आकाश अम्बानीले कम्पनीको ‘जियो २.०’ दर्शनलाई साकार पार्न र बलियो इकोसिस्टम सिर्जना गर्नमा जोड दिए। नयाँ इकोसिस्टम निर्माण गर्नका लागि हरेक क्षेत्रमा एआई प्रयोग गर्ने कम्पनीको उद्देश्य रहेको उनले बताए।
टिभीका लागि ओएस बनाउने कम्पनी
वार्षिक टेकफेस्टमा आकाश अम्बानीले भारत जीपीटी बाहेक कम्पनीले टिभीका लागि आफ्नै ओएसमा काम गरिरहेको बताए। कम्पनीले दूरसञ्चारका अलावा यस क्षेत्रमा पनि अगाडि बढ्न र मिडिया, वाणिज्य, उपकरण र सञ्चार क्षेत्रमा आफ्नो सेवालाई थप विस्तार गर्न चाहन्छ।
प्रकाशित: १२ पुष २०८०, बिहीबार