Technology Khabar ९ पुष २०८०, सोमबार
काठमाडौं ।
नेपालमा बेस स्टेशन (बीटीएस टावर)को आयात आधा भन्दा बढीले घटेको देखिएको छ। गत आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आर्थिक वर्षको २०८०/८१ को मंसिर मसान्तको तुलनामा बीटीएस टावरको आयात ५८.२० प्रतिशतले घटेको हो।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/२०८१ को मंसिरसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ३ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको ८९ यूनिट बीटीएस टावर आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४४ लाख ४८ हजार रुपैयाँ बराबरको १ हजार ११९ यूनिट बीटीएस टावर आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको मंसिर मसान्तमा बीटीएस टावरको आयात ४ करोड ९१ लाख ८८ हजार रुपैयाँले घटेको छ।
बीटीएस टावरको आयातबाट सरकारले ५३ लाख २५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
नेपालमा पाँच मुलुकबाट बीटीएस टावर आउने गरेको छ।
नेपालमा सबैभन्दा बढी बीटीएस टावर चीनबाट आउने गरेको देखिन्छ। चीनबाट चालु आवको मंसिरसम्म १ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको ४८ यूनिट बीटीएस टावर आएको छ।
भारतबाट ९८ लाख ४८ हजार रुपैयाँ बराबरको २५ यूनिट बीटीएस आयात भएको छ।
अस्ट्रेलियाबाट ५९ लाख ५६ हजार रुपैयाँ बराबरको १० यूनिट बीटीएस आयात भएको छ।
हंगेरिबाट १ लाख २५ हजार रुपैयाँ बराबरको पाँच यूनिट र मलेसियाबाट २६ हजार रुपैयाँ बराबरको एक यूनिट बीटीएस टावर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
के हो बीटीएस टावर?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
प्रकाशित: ९ पुष २०८०, सोमबार