नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने

  • Technology Khabar | ५ पुष २०८०, बिहीबार
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने

काठमाडौं ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ। कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच ओटा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो।

कलेजले स्नातक तह अन्तरगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा शैक्षिक सत्र २०२३ का लागि उक्त छात्रवृत्तिको घोषणा गरेको हो ।

‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं।’ कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए।

कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ। विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्दछ।

कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ। उल्लेखित विषयहरुमा छात्रवृत्ति दिँदा भर्नाको लागि सिट बाँकी रहेको हुनुपर्ने कलेजका अध्यक्ष जीवन खत्रीले जनाएका छन्।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाकारुपमा सञ्चालित कलेजमा इन्जिनियरिङको स्नातक तहमा सात ओटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×