एनसेल महाघोटाला राज्य विरुद्धको अपराध भन्दै शान्ति समाजको विरोध प्रदर्शन

Technology Khabar ५ पुष २०८०, बिहीबार

काठमाडौं ।

एनसेल महाघोटाला प्रकरणमा राज्यलाई झण्डै तीन खर्ब रुपैयाँ हानी/नोक्सानी पुर्याउने नियतले भएको चलखेललाई राज्य विरुद्धको अपराध भएको दाबी गर्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

२०८० पुस ५ गते काठमाण्डौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन भएको हो।

प्रचलित कानून अनुसार नेपाल सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्न चलखेल भइरहेको एनसेल महाघोटाला प्रकरणमा वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरुको संलग्नता रहेको र राज्यका विभिन्न निकायका पदाधिकारीहरु समेत सन्देहको घेरामा रहेको हुँदा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्न, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कानून संम्मत दण्डित गर्न माग गर्दै विरोध प्रदर्शन गरेको जानकारी दिएको छ।

प्रदर्शनमा सहभागिहरुले एनसेल महाघोटालामा संलग्न प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्रीलाई कारबाही गर, प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री देउवाको सन्दिग्घ सिंगापुर भ्रमणमा भएका “डिल”हरुबारे छानविन हुनुपर्छ, शिर्ष नेता मिलेकाः खरब खरब निलेका, यो सरकार कस्कोः तस्कर र विचौलियाको, एनसेल महाघोटाला प्रकरणः प्रधानमन्त्री दाहाललाई सत्तामा बस्ने नैतिकता छैन, एनसेल महाघोटाला प्रकरणमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्रीहरुको संलग्नता, देशलाई झण्डै तीन खरब रुपैँया हानी पुर्याउने चलखेल राज्य विरुद्धको अपराध हो, एनसेल महाघोटालाः विश्वसनीय न्यायिक छानविन आयोग गठन गर, भ्रष्टाचारको धमिराले लोकतन्त्र खाइसक्यो, भ्रष्टाचारमा शुन्य सहनशिलता केवल नाराः देशलाई खरबौ नोक्सान पार्ने शिर्ष नेताको पारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनबाट प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट, वुद्ध रिसालसहित १७ जनालाई गिरफ्तार गरेको बताईएको छ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया