
काठमाडौं ।
नासाले अन्तरिक्षको गहिराइबाट पृथ्वीमा बिरालोको अल्ट्रा हाई-डेफिनिशन भिडियो स्ट्रिम गरेको छ।
टेटर्स द क्याटको १५ सेकेन्डको क्लिप लेजरको माध्यमले सुदुर अन्तरिक्षबाट पृथ्वीमा पठाइएको थियो र यसले लेजर बीमलाई पछ्याइरहेको देखिन्छ।
ओरेन्ज ट्याबीको फुटेजले १ करोड ९० लाख माइल यात्रा गरेको छ र यो पृथ्वीबाट चन्द्रमाको दूरीको करिब ८० गुणा हो।
नासाले परीक्षण गरिरहेको यो लेजर प्रविधिले सौर्यमण्डलका धेरै दुर्गम भागहरूसँगको सञ्चारमा सुधार ल्याउने आशा गरेको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ।
टेटर्सको स्वामित्व क्यालिफोर्निया स्थित नासाको जेट प्रोपल्सन प्रयोगशाला (जेपीएल) का एक कर्मचारीसँग छ।
भिडियो १३ अक्टोबरमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कोन हेभी रकेटसँग प्रक्षेपण गरिएको अन्तरिक्ष यानमा अपलोड गरिएको थियो र ११ डिसेम्बरमा स्ट्रिम गरिएको थियो।
‘लाखौं माइल टाढाबाट प्रसारण गर्दा पनि, यसले धेरैजसो ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन भन्दा छिटो गतिमा भिडियो पठाउन सक्षम भयो,’ जेपीएल इलेक्ट्रोनिक्सका प्रमुख रायन रोगलिनले भने।
भिडियो पालोमार अब्जर्भेटरीको हाले टेलिस्कोपले प्राप्त गरेको थियो, जहाँ यसलाई डाउनलोड गरिएको थियो।
त्यहाँबाट यो जेपीएलमा स्ट्रिम गरिएको र त्यहाँ रियल टाइममा प्ले गरिएको थियो।
रोगलिनले भने कि जुन कनेक्सनमा भिडियो पालोमार अब्जर्भेटरीबाट जेपीएल बेसमा पठाइएको थियो वास्तवमा अन्तरिक्षबाट क्लिप पठाउने सिग्नल भन्दा सुस्त थियो।
‘जेपीएलको डिजाइनल्याबले हामीलाई यो प्रविधि प्रदर्शन गर्न मद्दत गर्दै अद्भुत काम गर्यो। सबैजनाले टेटर्सलाई माया गर्छन्,’ उनले थपे।
जेपीएलका डिमेन्ट्रेसन प्रोजेक्स म्यानेजर बिल क्लिपस्टेनले भने कि भिडियो– टेक्निकल मिशन जानकारीका साथै टेटर्सको नश्ल, मुटुको गति र उमेर देखाउने ग्राफिक्सका साथमा मिसाईएको छ र- ‘यस महत्वपूर्ण घटनालाई अझ यादगार बनाउन’ डिजाइन गरिएको थियो।
नासाको परीक्षण डीप स्पेस अप्टिकल कम्युनिकेसन्स (डीएसओसी) मिशनको एक हिस्सा थियो। अन्तरिक्ष एजेन्सीको यो पहिलो परीक्षण थियो जसले पृथ्वी र चन्द्रमाको बीचमा सञ्चारलाई तिब्रगति र भरपर्दोरुपमा पुर्याउन ध्यान दिने पहिलो योजना थियो।
डीएसओसी मिसनले कुन प्रकारका प्रविधिहरूले अन्तरिक्षको धेरै गहिराइबाट उच्च ब्यान्डविथ सामग्री पृथ्वीमा पुर्याउन सक्छ भनेर खोज गरिरहेको छ। किनभने रेडियो फ्रिक्वेन्सीहरूले हाई–क्वालिटी इमेज र भिडियोहरूको उच्च मात्रामा ठूलो दूरीमा प्रसारण गर्न आवश्यक डाटाको मात्रा ह्यान्डल गर्न संघर्ष गर्दछन्।
‘यस उपलब्धिले हाम्रो भविष्यको डाटा ट्रान्समिन आवश्यकताहरू पूरा गर्न प्रमुख तत्वको रूपमा अप्टिकल संचारलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ,’ नासाका डेपुटी एडमिनेस्ट्रेटर पाम मेलरोयले भने।
‘हाम्रो भविष्यको अन्वेषण र विज्ञान लक्ष्यहरू प्राप्त गर्नका लागि हाम्रो ब्यान्डविथ बढाउनु आवश्यक छ। र हामी यस प्रविधिको निरन्तर प्रगति र भविष्यको इनटरप्लानेटरी मिसनहरूमा हामी कसरी सञ्चार गर्छौं भन्ने परिवर्तनको लागि तत्पर छौं।’
प्रकाशित: ४ पुष २०८०, बुधबार