
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आजदेखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ। चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सिपमूलक तालिम दिने, तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो।
राष्ट्रिय सभा गृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार केसी ले भने, “काठमाडौँ कोही पनि युवाले वेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो। हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो।”
तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ।
त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगर गौरव र स्वर्णिम योजनाबाट अपेक्षा गरिएको उपलब्धिका विषयमा चर्चा गर्दै, तालिमबाट बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गराउन कार्यक्रम थालनी भएको उल्लेख गरे।
पहिलो ब्याचको तालिमको नतिजा अन्य तालिममा पनि प्रतिबिम्बित हुने भएकोले यसलाई सफल बनाउन प्रशिक्षक र प्रशिक्षार्थी दुवैको समान भूमिका हुने उनको भनाइ थियो।
दुई महिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए। उनीहरुमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले जानकारी दिईन्।
सफ्टवेयर्स विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो। १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ। सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने उल्लेख छ।
कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ।
मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्।
प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो।
यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको महानगरपालिकाले जनाएको छ।
सिपमूलक तालिमका ३४ विधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ। यसमा इलेक्ट्रिसियन, प्लम्बरिङ्, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारी साधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको सहकार्यमा हुनेछ।
प्रकाशित: १ पुष २०८०, आईतवार