चिनियाँ स्मार्टफोन ब्रान्डको न्यून निर्यातबाट भारत असन्तुष्ट, कुल निर्यातमा ४ प्रतिशत हिस्सा

Technology Khabar १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

पछिल्लो समयमा भारतमा ठूलो संख्यामा स्थानीय रुपमा स्मार्टफोनको उत्पादन भइरहेको छ। एप्पल, सामसङ, शाओमी, रियलमी, भिभो र वानप्लस लगायत कम्पनीहरुले भारतीय बजारमा स्थानीय रुपमा स्मार्टफोन उत्पादन गरिरहेका छन्।

एप्पल र सामसङले स्थानीय रुपमा उत्पादित डिभाइस ठूलो संख्यामा विदेशमा निर्यात गर्दै आइरहेका छन् भने चिनियाँ ब्रान्डहरुको निर्यातमा हिस्सा न्यून छ। चिनियाँ ब्राण्डहरुको न्यून निर्यातबाट भारत सरकार खुसी नभएको माईस्मार्टप्राइजले समाचार रिपोर्टमा उल्लेख गरेको छ।

भारत सरकार चिनियाँ ब्राण्डले भारतीय आवश्यकताहरु लागि मात्र उत्पादन गरेकोमा खुसी देखिएको छैन। यी ब्राण्डले भारतको निर्यातमा पनि योगदान हुनुपर्ने सरकारको आसय छ।

भारतमा चिनियाँ स्मार्टफोन निर्माताको प्रभुत्व

भारतीय स्मार्टफोन बजार ४० बिलियन अमेरिकी डलरको उद्योग भएको अनुमान गरिएको छ। जसले यसलाई विश्वको सबैभन्दा ठूलो व्यक्तिगत फोन बजारहरू मध्ये एक बनाउँछ। यद्यपि भारतीय बजारको करिब ७४ प्रतिशत शाओमी, ओप्पो, भिभो, वानप्लस र रियलमी लगायत चिनियाँ ब्राण्डको कब्जामा छ।

भारतका आईटी मन्त्री अश्विनी वैष्णवको भर्खरैको टिप्पणीअनुसार, भारतमा बिक्री हुने स्मार्टफोनको ९९ प्रतिशत भन्दा बढी देशमा स्थानीय रूपमा उत्पादन गरिन्छ।

भारतीय स्मार्टफोन बजारमा चिनियाँ ब्राण्डहरुको ठूलो बजार हिस्सा हुनुका साथै यिनीहरुले रोजगारीका अवसरका साथै अन्य विभिन्न अप्रत्यक्ष माध्यमबाट भारतीय अर्थतन्त्रको वृद्धिमा प्रत्यक्ष योग्दान पुर्याइरहेका छन्।

यस्तोमा चिनियाँ स्मार्टफोन निर्माताहरुले स्थानीय उत्पादनबाट भारतीय उपभोक्ताको माग मात्र पूर्ति गर्न ध्यान दिइरहेका छन्। चिनियाँ ब्राण्डहरुले भारतमा स्थानीय रुपमा उत्पादन गरिएको डिभाइसहरु पनि निर्यात गर्छन्। तर निर्यातमा उनीहरुको योगदान भारतको कुल स्मार्टफोन निर्यातको ४ प्रतिशत मात्र छ।

रिपोर्टकाअनुसार अर्कोतर्फ एप्पल र सामसङ भारतको सबैभन्दा ठूलो स्मार्टफोन निर्यातकर्ता हुन्। दुबै कम्पनीले विश्वव्यापी बजारको आवश्यकता पूरा गर्न भारतभर ठूला सुविधाहरु स्थापना गरेका छन्।

भारतले सन् २०२३ मा ११ बिलियन अमेरिकी डलर बराबरको स्मार्टफोन निर्यात गरेको थियो। जसमध्ये एप्पलले ५ बिलियन अमेरिकी डलर र सामसङले ४.५ बिलियन अमेरिकी डलर बराबरको स्मार्टफोन निर्यात गरेका थिए।

चिनियाँ ब्राण्डहरुको भारतीय बजारमा ठूलो हिस्सा भएपनि कम निर्यात संख्याबाट सरकार खुसी नभएको एक सरकारी अधिकारीलाई उदृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ।

चिनियाँ ब्राण्डहरुले विश्व बजारमा भारतमा उत्पादन भएका स्मार्टफोन निर्यात गर्ने लक्ष्यमा एकदम न्यून योगदान दिइरहेका उल्लेख छ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया