चार महिनामा २९ करोडको २१ सय यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात

Technology Khabar ८ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांकमा नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको देखिएको हो।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिकमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ३४.७९ प्रतिशतले घटेको छ।

चालु आवको कार्तिक मसान्तमा २१ सय यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २२२ यूनिट आयात भएको छ।

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल नेपालमा आउने संख्या घटेसँगै रकम पनि घटेको छ। गत आवमा ४० करोड ४२ लाख ७० हजार रुपैयाँ बराबरको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएकोमा चालु आवमा २९ करोड ४७ लाख ६१ हजार रुपैयाँ बराबरको आयात भएको छ।

चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयातबाट सरकारले ९ करोड २१ लाख ३३ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ४ मुलुकबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

सबैभन्दा धेरै चीनबाट १३ करोड ५२ लाख ८८ हजार रुपैयाँ बराबरको १ हजार २८१ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

भारतबाट १४ करोड १७ लाख ४१ हजार रुपैयाँ बराबरको ७४५ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया