दूरसञ्चार प्राधिकरणले भन्यो- अझै केहि सेवा प्रदायकबाट टिकटकमा पहुँच पुगिरहेको छ तत्काल रोक

  • Technology Khabar | २८ कार्तिक २०८०, मंगलवार
दूरसञ्चार प्राधिकरणले भन्यो- अझै केहि सेवा प्रदायकबाट टिकटकमा पहुँच पुगिरहेको छ तत्काल रोक

काठमाडौं ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले टिकटकको पहुँचमा तत्काल रोक लगाउन सबै सेवा प्रदायकहरुलाई सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ।

प्राधिकरणले सरकारको निर्णय उदृत गर्दै टिकटकमा प्रतिबन्ध लगाउन भनेको हो। जसमा अझैपनि केहि सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएको भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन भनेको छ।

“सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारवाही हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईएको छ।” सूचनामा भनिएको छ।

सोमबारनै सरकारले टिकटक बन्द गराउने निर्णय गरेको थियो भने सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सोमबार नै निर्देशन दिएको थियो।

इन्टरनेट सेवा प्रदायकहरुले भने आज मंगलबारदेखि मात्र टिकटकमा पहुँच बन्द गराएका छन्। सोहीकारण नियामक निकाय प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन जारी गरेको हो।

यस्तो छ दूरसञ्चार प्राधिकरणको सूचना- “नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ। प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारवाही हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईएको छ।”

प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २८ कार्तिक २०८०, मंगलवार