
काठमाडौं ।
नयाँपुरानो इलेक्ट्रो टेकले अनलाइन मार्फत पुराना वा सेकेण्ड ह्याण्ड मोबाइल खरिद बिक्री गर्न सकिने प्लेटफर्म तयार गरी सञ्चालनमा ल्याएको छ। यस प्लेटफर्मबाट उपभोक्ताले सहज र सरल तरिकाले पुराना मोबाइल खरिद तथा बिक्री गर्न सक्छन्।
नेपालमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भइसकेको छ। नयाँफोनका साथै नेपालमा पुराना फोनको पनि ठूलो मात्रामा कारोबार हुने गरेको छ। धेरै पुराना फोनहरु आधिकारिक माध्यमबाट कारोबार हुने गरेका छैनन्। यसले गर्दा मोबाइल खरिद बिक्री गर्नेहरुले विभिन्न समस्याहरु भोग्नुका साथै राज्यले पनि ठूलो राजश्व गुमाइरहेको छ।
नयाँपुरानो इलेक्ट्रो टेकका संस्थापक तथा निर्देशक अभिषेक अग्रवालसँग टेक्नोलोजीखबरले गरेको कुराकानीको सम्पादित अंशः
सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार व्यवसायै किन रोज्नु भयो?
सेकेन्ड ह्यान्ड मोबाइल बजारमा ठूलो ग्याप रहेको छ। धेरै सेकेन्ड ह्यान्ड मोबाइलहरु रिटेलरमार्फत एक्चेञ्ज हुने गर्छ। तर त्यहाँ समान किसिमको मूल्य निर्धारण हुने गरेको छैन। उनीहरुले ग्राहकलाई हेरेर मूल्य निर्धारण गर्छन्। कुनै उपभोक्ता आफ्नो पुरानो मोबाइल बेच्न जाँदा पसलेले उपभोक्ताको अनुहार हेरेर एउटै फोनका लागि फरक मूल्य बताउँछन्। यसले गर्दा उपभोक्ताले आफ्नो मोबाइलको सहि मूल्य पाउन सकिरहेका छैनन्।
हामीले उपभोक्तालाई हेरेर भन्दा बजार मूल्यका आधारमा स्ट्यान्डर्ड मूल्य प्रणाली अपनाएका छौं। अन्तर्राष्ट्रिय बजारमा पनि यस्तै मोडलमा काम भइरहेकाले हामीले नेपालमा यस्तै प्रणाली अघि बढाउने प्रसास गरेका हौं। सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार गर्दा उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले हामीले सुरुवात गरेका हौं। नयाँ सिस्टममा ग्राहकहरु अभ्यस्त नभएकाले अहिले केही सुस्त छ।
सेकेन्ड ह्याण्ड मोबाइलको कारोबार गर्दा मूल्यमा ग्राहकलाई विश्वास दिलाउन कति सहज छ?
मानविय स्वभाव नै आफूले बिक्री गर्ने उत्पादनको मूल्य बढी र खरिद गर्ने वस्तुको कम होस् भन्ने चाहना हुन्छ। यस्तोमा ग्राहकलाई विश्वास दिलाउन पक्कै पनि कठिन छ। उदाहरणका लागि तीन वर्ष अघि ३० हजार रुपैयाँमा किनेको सोही रेञ्जको मोडल हाल बजारमा १६/१७ हजार रुपैयाँमा पाउन सकिन्छ। ग्राहकले सो मोबाइल बिक्री गर्दा कम्तिमा पनि १० हजार रुपैयाँ पाउनु पर्छ भन्नुहुन्छ। १० हजारमा किनेको मोबाइल कतिमा बेच्ने? ग्राहकले सोही रेञ्जमा केही हजार थप गरे नयाँ मोबाइल किन्न सक्नुहुन्छ। उपभोक्ताले बेच्दा मात्र हैन किन्दा पनि यति मूल्य हाल्छु भनेर विश्लेषण गर्नु हुँदैन। मूल्यमा बजार अभ्यस्त हुन केही समय लाग्ने अनुमान गरेको छौं।
प्लेटफर्ममा मोबाइल डिभाइस कसरी खरिद तथा बिक्री हुन्छ?
हामीले एप मार्फत मोबाइल डिभाइस खरिद बिक्री गरिरहेका छौं। कम्पनीले दुई प्रकारको नयाँपुरानो र नयाँपुरानो एप प्रयोगमा ल्याइरहेको छ। एप एन्ड्रोइडका लागि प्ले स्टोर र एप्पलका लागि एप्पल स्टोर दुबैमा उपलब्ध छ।
नयाँपुरानो एपबाट उपभोक्ताले सिधै कम्पनीलाई बिक्री गर्न पाउँछन्। नयाँपुरानो एक्सचेञ्ज एपमा खुद्रा बिक्रेतालाई मध्यस्तकर्ता (मिडिएटर) राखेर पसलमै एक्सचेञ्ज सञ्चालन हुन्छ। एपले स्वचालित रुपमा मोबाइलको मूल्य निर्धारण गर्छ।
एपबाट मूल्य कसरी निर्धारण हुन्छ?
मूल्य निर्धारणमा धेरै कुराले फरक पारेको हुन्छ। फोनको क्षमता र्याम र स्टोरेज, कनेक्टिभी- फाइभजी वा फोरजी, लन्च भएको वर्ष, बजारमा उपलब्ध प्रतिस्पर्धी मोडलको मूल्य लगायत हुन्छन्। यी विषयहरुको विश्लेषण गरेर फोनको मूल्य निर्धारण हुन्छ। साथै फोनको भौतिक अवस्थाले पनि मूल्यमा फरक पार्छ। मोबाइलको विशेषता र तथा एपमा राखिएको केही प्रश्नको आधारमा स्वचालित रुपमा मूल्य निर्धारण हुन्छ।
अनलाइनका माध्यमबाट उपभोक्ता र कम्पनीबीच सहमति भएपछि कसरी खरिद बिक्री गरिन्छ?
ग्राहक र कम्पनीबीच मूल्यमा सहमति भएपछि कम्पनीका प्रतिनिधि ग्राहक भएको स्थानमा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेर अकाउन्टमा रकम भुक्तानी गरिन्छ। फोन किन्दा कम्पनीले उपभोक्तासँग आईएमईआई नम्बर जाँच गर्ने र उपभोक्ताको आईडीको फोटोकपि प्रमाणको रुपमा संकलन गर्छ।
हालका लागि पिकअप सर्भिस काठमाडौंमा मात्र उपलब्ध छ। एक्सचेञ्ज सर्भिस भने नेपालभरी उपलब्ध छ।
उपत्यका बाहिर कसरी सेवा प्रदान गरिरहनु भएको छ?
उपत्यका बाहिर मुख्यरुपमा लजिस्टिकका कारण समस्या भइरहेको छ। फोन पिकअप गर्न जाँदा दुई तीन/ओटा औपचारिकता हुन्छ। यसका लागि लजिस्टिक पार्टनरसँग कुराकानी भइरहेको छ। यसका बावजुद उपत्यका बाहिरबाट पनि फोन आइरहेको छ। हाल उपभोक्ताहरुले कुरियर सेवा मार्फत फोन बिक्रीमा पठाइराख्नु भएको छ। हामीले कुरियर शुल्कसहित ग्राहकको खातामा पैसा भुक्तानी दिइरहेका छौं।
बजारमा विभिन्न माध्यमबाट पुराना मोबाइल कारोबार भइरहेका छन्। त्यस्तोमा नयाँपुरानोबाट खरिदबिक्री गर्दा उपभोक्तालाई थप के फाइदा हुन्छ?
बजारमा पुराना मोबाइल खरिद बिक्रीका लागि अनलाइन प्लेटफर्महरु नभएका हैनन्। सर्वप्रथम ती प्लेटफर्ममा उपभोक्ताले आफ्नो डिभाइस लिस्टिङ गराउनु पर्छ। त्यसका आधारमा खरिद गर्न चाहाने ग्राहकले सम्पर्क गरेर बाग्रेनिङ गर्छन्। साथै डिभाइस कहिले बिक्री हुन्छ भन्ने टुंगो हुँदैन। ग्राहकलाई तत्काल रकम आवश्यक छ भने हाम्रो प्लेटफर्ममा बिक्री गर्न सक्नु हुन्छ।
सेकेन्डह्यान्ड मोबाइल सेटहरु अधिकांश अनौपचारिकरुपमा कारोबार भइरहेका छन्? यस प्रकारको व्यवसाय संगठित हुन कतिको जरुरी छ?
कुनै पनि वस्तु तथा सेवाको कारोबार औपचारिक माध्यमबाट हुनुपर्छ भन्नेमा विश्वास गर्छु। हाम्रो उद्देश्य नै अनौपचारिक माध्यमबाट हुने सेकेन्ड ह्याण्ड मोबाइलको कारोबारलाई औपचारिक बनाउने हो। अनौपचारिक माध्यमबाट आफ्नो डिभाइस बिक्री वितरण गर्दा यसबाट भविष्यमा ठूलो जोखिम निम्तिन सक्छ। यसरी कारोबार गर्दा खरिद बिक्रीको कुनै प्रमाण हुँदैन। हामीले खरिद तथा बिक्री गर्ने दुबै उपभोक्ताको आवश्यक प्रक्रिया पुरा गरेर काम गछौं। साथै बिक्री गर्ने उपभोक्ताको अकाउन्टमा सिधै पैसा पठाइने भएकाले पनि उहाँहरुसँग डिभाइस बिक्री गरेको प्रमाण हुन्छ। आधिकारिक प्रणालीबाट खरिद बिक्री गर्दा भविष्यमा आउन सक्ने कानूनी झन्झटबाट मुक्त हुन सकिन्छ।
नयाँ पुरानो इलेक्ट्रेक कम्पनी कहिलेदेखि सञ्चालनमा आएको हो?
कम्पनी दर्ता प्रक्रिया सम्पन्न गरेको एक वर्ष पुरा भएको छ। सञ्चालनमा आएको करिब ६ महिना जति भयो। विगत चार महिनादेखि पूर्णरुपमा सञ्चालनमा आइरहेको छ।
चार महिनाको अवधिमा कति मोबाइल खरिद बिक्री गर्नु भयो?
हाल हामीले १०० भन्दा बढी डिभाइस खरिद बिक्री गरिसकेका छौं। साथै हाम्रो सेवाबाट उपभोक्ता पनि सन्तुष्ट भएको पाएका छौं। उहाँहरुले पनि घरमा यति कै राखेको फोनबाट केही रकम प्राप्त गर्नु भएकोमा हाम्रो सेवाबाट सन्तुष्ट भएको पाएका छौं। र, यसबाट हामीलाई थप उत्साह मिलेको छ। साथै हामी संस्थाको सामाजिक उत्तरदाहित्व पुरा गरेर अघि बढ्ने प्रयास पनि गरिरहेका छौं। उपभोक्ताले हाम्रो कम्पनीमार्फत फोन खरिद बिक्री गर्नु भएको उहाँहरुको नाममा एक/एक बिरुवा रोप्ने योजना बनाइरहेका छौं।
हाल सेकेन्ड ह्यान्ड मोबाइल बिक्री खरिद बिक्री नभएको हैन। औपचारिक माध्यम बिना खरिद बिक्री भइरहेको छ। हाम्रो प्लेटफर्मबाट खरिद बिक्री हुँदा सरकारलाई कर पनि तिरिरहेका छौं। एउटा फोन दुई पटक बिक्री भयो भने आयात पनि कम हुन्छ। यसले राज्यको व्यापार घाटा कम गर्न मद्दत गर्छ। साथै हाम्रो कम्पनी मार्फत उपभोक्ताले आफ्नो डिभाइस बिक्री गरेर आफ्नो आवश्यकता अनुसारको खरिद गर्नु पनि सक्नु हुन्छ।
उपभोक्ताले बेचेको फोनमा हुने उनीहरुको डाटा कसरी सुरक्षित गर्नु हुन्छ?
हामीले मोबाइल लिन अघि उपभोक्तालाई फोनमा रहेको महत्वपूर्ण फोटो तथा फाइलहरु अर्को डिभाइसमा सार्न भन्छौं। उहाँले आफ्नो तर्फबाट गर्ने काम गरेपछि पनि कम्पनीले उक्त डिभाइसलाई फ्याक्ट्री रिसेट गरेर राख्छ। फ्याक्ट्री रिसेट गरेपछि फोनमा पुराना डाटा हुँदैन र नयाँ किन्दा जस्तो हुन्छ, त्यस्तै हुन्छ। नयाँ कुनै डाटा र लगइन आईडीहरु रहेको हुँदैन। अर्को ग्राहकलाई बिक्री गर्नुअघि पनि हामी मोबाइलाई पुनः एक पटक जाँच गरेर मात्र बिक्री गछौं।
बिल र बक्स नभएको मोबाइल यस प्लेटफर्ममा बिक्री गर्न सकिन्छ?
बिल र बक्स नभएको मोबाइल पनि हामीले खरिद गरिरहेका छौं। त्यस्ता मोबाइलका हकमा खरिदकर्तासँग करारनामा बनाउँछौं। तर ती डिभाईस एमडीएमएसमा दर्ता भएको भने हुनुपर्छ। एमडीएमएसमा दर्ता नभएका मोबाइलको कारोबार गर्ने गरेका छैनौं।
एक्सचेञ्ज सुविधा कहाँ-कहाँ उपलब्ध छ?
एक्सचेञ्जका लागि एप्पलका उत्पादन बिक्रेता ओलिज तथा इभो स्टोर, शाओमी र विभिन्न मोबाइल रिटेलरसँग सहकार्य गरेका छौं। यी संस्थाहरुको सहकार्यमा २५/३० शहरमा हाम्रो उपस्थिति छ।
भविष्यमा अन्य सेकेण्डह्याण्ड इलेक्ट्रोनिक्स उपकरण कारोबार गर्ने योजना छ कि छैन?
पहिलो चरणमा हामीले मोबाइल डिभाइस मात्र खरिदबिक्री वितरण गरिरहेका छौं। हामी थप उपभोक्ता इलेक्ट्रोनिक्स विस्तार गर्ने योजनामा छौं। यो पाइपलाइनमा छ र केही समय लाग्छ। स्मार्टफोनबाट सुरु गरेका छौं। स्मार्टफोनसँगै स्मार्टवाच, ल्यापटप, आईप्याड, ट्याबलेटको वर्गलाई कभर गछौं। पछि विस्तारै कन्जुमर इलेक्ट्रोनिक्समा जान्छौं।
स्टार्टअपका रुपमा बजारमा कस्ता चुनौती सामना गर्नुभएको छ?
स्टार्टअपको मुख्य चुनौती भनेको लगानीयोग्य पूँजीको अभाव हो। राम्रो उत्पादनले पनि सरकारको तर्फबाट कुनै खालको प्रोत्साहन प्राप्त गर्न सक्दैन। मार्केटिङ बिना बजारमा कुनै पनि उत्पादन उपभोक्तासँग पुर्याउन सम्भव छैन। सानो पूँजी भएको स्टार्टअपले उपभोक्तासँग पुग्ने गरी मार्केटिङ गर्न सकिरहेका छैनन्। मार्केटिङमा अनुमान गरेको भन्दा पनि धेरै ठूलो खर्च छ। उत्पादनको जानकारी प्राप्त नगरेसम्म उपभोक्ताले प्रयोग गर्नु हुँदैन। स्टार्टअपलाई उपभोक्तासँग पुग्न पनि धेरै गाह्रो छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उपभोक्तासँग जान महँगो छ। मार्केटिङका लागि सरकारले स्टार्टअपलाई सहयोग गरिदिए सहज हुने थियो।
प्रकाशित: २५ कार्तिक २०८०, शनिबार