
काठमाडौं ।
चीन र एप्पल बिचको सम्बन्ध दिन प्रतिदिन तनावग्रस्त हुँदै गएको देखिन्छ भने कम्पनीले बिस्तारै आफ्नो उत्पादन अन्य देशहरूमा सार्दै गरेको पनि छ।
यद्यपि, अमेरिकी टेक जायन्ट र एसियाली देश बीचको सम्बन्ध पहिले भन्दा राम्रो भएको देखिएको जनाइएको छ। साथै केही समय अघि मात्र सीईओ टिम कुकले चीनको आईटी मन्त्रीसँग भेटेका थिए।
पछिल्लो रिपोर्ट अनुसार, चीनले एप्पलका उत्पादनहरूको ९५ प्रतिशत भन्दा बढी उत्पादन गर्न जारी राखेको भनी गीज्मोचाइनामा उल्लेख छ। यस भ्रमणको एक भागको रूपमा कुकले हालै यस क्षेत्रको फक्सकन प्लान्टको भ्रमण गरेका थिए।
यसै भ्रमणको क्रममा उनले एप्पलका ९५ प्रतिशत भन्दा बढी उत्पादन चीनमै उत्पादन हुने गरेको बताएका हुन्। संसारको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीहरू मध्ये एप्पलको स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट र स्मार्टवाचहरू सहित चीनका विभिन्न उद्योगहरूमा महत्त्वपूर्ण उपस्थिति रहेको छ।
वास्तवमा, एप्पलले केही समयदेखि आफ्नो उत्पादन चीनबाट टाढा सार्न कोशिस गरिरहेको छ। विशेष गरी कम्पनीले महामारीको समयमा सामना गरेको चुनौतीहरूको कारण यो कदम चाल्ने निर्णय गरेको उल्लेख छ।
कम्पनीले भारतलाई सेकेण्डरी अपरेसन सेन्टर (दोस्रो सञ्चालन केन्द्र) को रूपमा सोच्दै आएको र यसलाई ‘आईफोन फ्याक्ट्रि अफ द वर्ल्ड’ मा परिणत गर्ने लक्ष्य राखेको छ।
यद्यपि, यी योजनाहरू अझै पनि प्रारम्भिक चरणमा रहेको र उत्पादनलाई चीनबाट टाढा सर्ने कार्य निकट भविष्यमा पनि सम्भव नदेखिएको उल्लेख छ। एक अन्तर्वार्तामा कुकले एप्पलले आफ्नो आपूर्ति श्रृंखला साझेदारहरूसँग “विन–विन” सहयोग खोजिरहेको उल्लेख गरे।
यसअघि फक्सकनका अध्यक्ष वाङ लाइचुनले पनि अन्तर्वार्तामा यो वर्ष एप्पलका लागि फक्सकनले तीन ओटा आईफोन १५ मोडल उत्पादन गरेको र गत वर्षको तुलनामा यो व्यवसाय दोब्बर भएको खुलासा गरिन्। साथै उनले कम्पनीले एप्पलको आगामी भीआर हेडसेट एप्पल भिजन प्रोको उत्पादनको तयारी गरिरहेको पनि खुलासा गरिन्।
एप्पलले चीनमा आफ्नो व्यापारलाई अझ गहिरो बनाउने र विजयी स्थिति हासिल गर्न चिनियाँ आपूर्ति श्रृंखला साझेदारहरूसँग सहकार्य जारी राख्ने आशा राखेको उल्लेख छ।
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार