ओटिटीमा ‘जारी’ चलचित्र उपलब्ध

Technology Khabar १ कार्तिक २०८०, बुधबार

ओटिटीमा ‘जारी’ चलचित्र उपलब्ध
सांकेतिक तस्विर

काठमाडौं ।

कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो। ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन्।

नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन्। आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भए।

नेपालमा सन् २०१६ देखि सुरू भएको एप ‘सिनेमा घर’ले भने पछिल्लो समय दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाइ चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोतसमेत बनेको छ।

“पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिन्थ्यो। यद्यपि अहिले एपकै माध्यमले आम्दानी निर्माताले गरिरहेका छन्। पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको छ”, अध्यक्ष लामिछानेले भने, “यसले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गरेको छ।”

उनले एपमा प्रदर्शन सुरू गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिए। चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ।

“जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको देखिएको छ। यसवर्ष हामीले कबड्डी–४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर पायौँ। आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पुर्याउँछ”, अध्यक्ष लामिछानेले भने।

उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया