युट्युवबाट सिकेर च्याउ खेती

  • Technology Khabar | २६ आश्विन २०८०, शुक्रबार

काठमाडौं ।

गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक आठ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ।

“पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ। त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भनिन्, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ। राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक सात–आठ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिइन्।

बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताइन्। “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ। अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उनले भनिन्, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक पाँच हजार रुपैयासम्म आम्दानी हुने गरेको छ। राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ।”

सानुमायाले बजारमा माग बढी भएकाले पुर्याउन नसकिएको बताइन्। अहिले बजारमा प्रतिकिलो पाँच सय रुपैयाँसम्म सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिइन्।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ। “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उनले भनिन्, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आएको छ।

मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताइन्। “पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ”, उनले भनिन्, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ।”

“राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ”, थापामगरले भनिन्, “श्रीमान्ले युट्युब हेर्नुहुन्छ। त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ।” सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब छ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उनको भनाइ छ। एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उनले बताइन्।

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सामसङ ग्यालेक्सीएस२७ पहिलो पटक देखा पर्यो

  • Technology Khabar
  • २६ आश्विन २०८०, शुक्रबार