जडान गरेका सिसिटिभी क्यामरा बिग्रिएपनि मर्मत भएन

  • Technology Khabar | २३ आश्विन २०८०, मंगलवार
जडान गरेका सिसिटिभी क्यामरा बिग्रिएपनि मर्मत भएन
सांकेतिक तस्बिर

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक बर्ष २०७८/७९ मा जडान गरेका सिसिटिभी क्यामरा बिग्रिएको महिनौं बित्दा पनि मर्मतमा भने कसैको चासो गएको छैन।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निसापानीदेखि गड्डाचौकी मुख्य बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामरा बिग्रिएर काम गर्न छोडेको जनाइएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत जडान भएका १२ ओटा सिसिटिभी क्यामरामध्ये चार ओटाले हाल र आठ ओटाले काम गर्न छोडेको छ महिना बितेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। अपराध अनुसन्धान तथा सडक दुर्घटनाको अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले सिसिटिभी जडान गरिएको थियो।

विभिन्न क्षेत्रका इलाका प्रहरी कार्यालयमा रेकर्ड हेर्न मिल्ने व्यवस्था गरिए पनि छोटो समयमै क्यामराले काम गर्न छोडेको जनाइएको छ। इलाका प्रहरी कार्यालय सुखडमा विभिन्न क्षेत्रमा जडान भएका १४ ओटा सिसिटिभी क्यामरा बिग्रिएका छन् ।

प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बीरेन्द्र बिकले आफू आउनुभन्दा अगाडि नै सिसिटिभी क्यामराले काम नगरेको बताए। उनले नगरपालिकाले जडान गरेको सुखड बजार क्षेत्रको दुई ओटा क्यामराबाहेक अन्य १२ ओटा क्यामराले काम नगरेको जानकारी दिए। मर्मतका लागि जिल्लामा खबर गर्दा स्थानीय तहसँग समन्वय गर्न भनेको उनले बताए।

त्यसैगरी मसुरिया इलाका प्रहरी कार्यालयले सो क्षेत्रमा जडान भएका सात ओटा सिसिटिभी क्यामरामध्ये दुई ओटाले मात्र काम गरेको र पाँच ओटा बिग्रिएको अवस्थामा रहेको जनाएको छ।

प्रहरी कर्मचारी प्रमानन्द जोशीले मर्मतका लागि नगरपालिकासँग आग्रह गरेपछि दुई ओटाबाट काम थालेको बताए। त्यसै गरी मौनाला क्षेत्रका चार ओटा सिसिटिभी क्यामराले समेत काम गर्दैनन्। मर्मतका लागि पटक पटक आग्रह गर्दासमेत मर्मत हुन नसकेको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...