
काठमाडौं ।
नेपाल वायुसेवा निगम(नेवानि)मा सूचना प्रविधिको प्रयोगको अवस्था नाजुक रहेको र सूचना प्रविधि विभागनै नरहेको खुलासा भएको छ। नेपालको एक मात्र सरकारी तथा अन्तराष्ट्रिय वायुसेवा संचालन गर्ने संस्थामा प्रविधिगत हस्तक्षेप गर्न र सूचना प्रविधि मैत्री बनाउन सुझाब दिईएको छ।
नेपाल वायुसेवा निगमको संरचनागन एवंम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन २०८० ले निगममा परम्परागत रुपमा तथ्यांकहरु राखिने गरेको भन्दै संस्था डिजिटल मैत्री नभएको उल्लेख गरेको छ।
पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्राविधिक हस्तक्षेप गर्न सुझाब दिईएको छ।
जसमा भनिएको छ, हवाइसेवा उद्योगमा बजारलाई विस्तारगरी संस्थालाई प्रविधिमैत्री बनाउन प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ। अतः निगमको दैनिक कार्यलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि निगमलाई Management Information Services (MIS), Enterprise Resource Planning (ERP) Customer Relation Management (CRM)बनाउनपर्ने देखिन्छ। CRM सफ्टवेयरबाट २४ सै घण्टा गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने युनिटका अतिरिक्त विमानका गतिविधि सेवाग्राहीले सजिलै बुझ्न पाउने गरी कल सेन्टर स्थापना गर्नपर्ने देखिन्छ।”
उक्त प्रतिवेदनले स्पष्टरुपमा निगममा सूचना तथा प्रविधि विभाग नै नभएको देखिएको खुलासा गरेको हो।
उडड्यन सेवा क्षेत्रका लागि सूचना तथा प्रविधि अनिर्वाय शर्त भएको भन्दै व्यापारिक प्रतिष्ठान वा निगम जस्तो सार्वजनिक संस्थाहरुको दैनिक कार्यहरु सूचना प्रविधि विना प्रायः असम्भव नै हुने बताईएको छ।
“निगमको आन्तरिक सूचना संजाल प्रणाली, साइवर सुरक्षा, साइवर संजाल, बैकिङ्ग आइपिइस प्रणाली, जहाज भित्र इन्टरनेट सेवा सुचारु गर्ने आदिकार्यहरु सूचना तथा प्रविधिसँग सम्बन्धित छन्। यी सबैलाई प्रभावकारी र जोखिममुक्त बनाउनका लागि निगममा सूचना तथा प्रविधि विभाग नभएको देखियो।” प्रतिवेदनमा भनिएको छ।
यति मात्र नभई आधुनिक र प्रविधि मैत्री समयमा निगमको लेखा र अभिलेख, आन्तरिक, बाह्य तथा कर लेखापरीक्षणको अवस्था समेत निकै कमजोर र परम्परागत रहेको देखाएको छ।
“निगमको लेखा प्रोदभावी ( accrual ) लेखा प्रणालीमा आधारित हुने र लेखा र अभिलेख विद्युतीय माध्यममा राख्न सक्ने उल्लेख छ। निगमले लेखा र अभिलेख विद्युतीय प्रणालीमा राख्न ओर्याकल (Oracal) सफ्टवेयरमा राखेको छ। तर, उक्त सफ्टवेयर पूर्ण क्षमताका साथ संचालन नगरिँदा समस्याहरु उत्पन्न भएको देखियो,” प्रतिवेदनमा भनिएको छ, “उक्त सफ्टवेयरमा दोहोरो हुने गरी प्रविष्ट हुने, म्यानुल प्रविष्टि गर्दा गल्ती हुने र प्रतिवेदनहरु समयमै दिन नसक्ने आदि समस्याले गर्दा आर्थिक अनुशासन कायम गर्न,समस्या उत्पन्न भएको मात्र छैन लेखा नियन्त्रण प्रणाली प्रभावकारी तथा विश्वासनीय नभएको शंका गर्न सकिन्छ।”
यसै गरी उक्त सफ्टवेरले वित्तीय विवरण समेत तयार गर्ने नगरेको तथा अर्थ विभागले वित्तीय विवरण म्यानुअली तयार गर्ने गरेकोबाट उक्त सफ्टवेयरमा राखिएको लेखा र अभिलेख विश्वासनीय तथा यर्थाथ भएको एकिन गर्न सकिने अवस्था नभएको प्रतिवेदनमा खुलासा गरिएको छ। तसर्थ निगमले लेखा र अभिलेखलाई पूर्णरुपमा विधुतीय प्रणालीमा लगी त्यसको लेखा प्रणाली विश्वासिलो र यर्थाथपरक बनाउनु पर्ने सुझाब दिईएको छ।
यसका साथै निगमलाई यात्रु मैत्री र प्रविधि मैत्री बनाउन डिजीटल मार्केटिङ्गमा समेत जोड दिनुपर्ने भनिएको छ।
यसैगरी डिजीटल मार्केटिङ तर्फ डिजीटल प्रणालीबाट टिकट बिक्री / खरिद प्रणालीबाट सेवा प्रदायक र सेवाग्राही लाभान्वित भएको भन्दै यसबाट सेवाग्राहीले सेवा प्रदायकको टिकट काउन्टरमै धाई राख्न नपर्ने र सेवा प्रदायकले पनि टिकट बिक्रीको लागि धेरै जनशक्ति खर्च गरीरहनु नपर्ने भनिएको छ।
“…निगमले आफ्नो एप्सबाट र केही गेटवएको माध्यमबाट आन्तरिक हवाई टिकट बिक्री गरीरहेको छ। अन्तर्राष्ट्रिय उडानको टिकट सुविधा निगमको बेभसाइटमा मात्र पाइन्छ । सबै बैंकहरुको गेटवए पेमेन्ट प्रणालीमा निगमको टिकट बिक्री प्रणाली जोडिन बाँकी नै छ । यसतर्फ काम भैरहेको निगम व्यवस्थापनले जानकारी समितिलाई दिएको छ । हवाई बजार व्यवस्थापनमा प्रविधिगत हस्तक्षेप तीव्ररुपमा भैरहेको छ। यसबाट सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज र व्यवसायिक फाइदा भएको छ । निगमले राष्ट्रिय तथा अन्तराष्ट्रिय सेवाका टिकटहरु डिजीटल बिक्री प्रणालीमा राख्नुपर्छ।”
“डिजीटल मार्केटिङ्ग एप्स तथा सामाजिक संजालमार्फत गर्ने प्रचलन बढेको छ। यो किफायती तथा प्रभावकारी हुने हुँदा निगमले डिजिटल मार्केटिङ्गलाई महत्व दिनुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक गरिएको प्रतिवेदनमा संस्था भित्र रिसर्च एण्ड इनोभेसनको कार्य नै नभएको भन्दै निगमको चालु संगठनात्मक संरचनामा रिसर्च एण्ड इनोभेसन विभाग नभएको उल्लेख गरेको छ।
“उड्डयन जस्तो संवेदनशील, जोखिमयुक्त र गतिशील व्यापारमा कार्यकारी प्रमुख वा अधिकार प्राप्त अधिकारीहरुले सही, निष्पक्ष र समयमै निर्णय गर्न तथ्य तथा प्रणालीहरुको आवश्यकता पर्दछ । प्रतिस्पर्धात्मक बजार विश्लेषण, जोखिम विश्लेषण, बजार सम्भाव्यता विश्लेषण आदि रिसर्च (अनुसन्धान) बाट हुन्छ भने बजार विस्तार तथा ब्रान्डिङ्गको नवीनतम सोच तथा प्रविधिको फरक ढंगले उपयोग इनोभेसनबाट सम्भव हुन्छ । निगमलाई प्रतिस्पर्धी बजारमा नेतृत्वदायी संस्थाको रुपमा संस्थागत गर्न निगममा रिसर्च एण्ड इनोभेसन विभागको अभाव खड्कियो,” रिपोर्टमा लेखिएको छ।
यस्तै वायुसेवा निगमले आफ्ना कर्मचारीहरुको सहि उपयोग र काममा लाउन नसकेको उल्लेख छ। यसको लागि मानव संसाधन प्रविधि प्रयोग गर्न भनिएको छ।
“…मानव संसाधनको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ । यस कार्यमा मानव संसाधन व्यवस्थापन सफ्टवेयर (Human Resource Software) उपयोग गर्न सकिन्छ। यो सफ्टवेयरको माध्यमबाट निगमका कर्मचारीहरुको व्यक्तिगत विवरण रेकर्ड राख्न मात्र होइन आवश्यक तालिम आवश्यकता विश्लेषण गर्न र जनशक्ति कार्य सम्पादन मूल्याङ्कन निष्पक्ष त्रुटिरहीत बनाउन र जनशक्ति प्रभावकारी परिचालन गर्न सहयोग गर्छ यो सफ्टवेयरले मानव संसाधनवारे नेतृत्व तहलाई प्रभावकारी निर्णय लिन र सही तथ्याङ्क प्राप्त गर्न सहयोग हुन्छ । यसर्थ:निगमले मानव संसाधन व्यवस्थापनलाई प्रभावकारी बनाउन मानव संसाधन प्रविधिको प्रभावकारी उपयोग गर्नु पर्छ।”
प्रकाशित: १७ आश्विन २०८०, बुधबार