ट्रायल पास गरेको ३ दिनभित्र स्मार्ट लाइसेन्स दिने व्यवस्था गरिँदै: मन्त्री ज्वाला

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
ट्रायल पास गरेको ३ दिनभित्र स्मार्ट लाइसेन्स दिने व्यवस्था गरिँदै: मन्त्री ज्वाला

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला पुगेका मन्त्री प्रकाश ज्वालाले आफूहरूले गरेको कामको नतिजा देखिन थालेको बताएका छन्।

बिहीबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले स्मार्ट लाइसेन्सको व्यवस्थालाई सहज बनाउन लागेको बताए।

उनले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका व्यथिती हटाउन केही काम अघि बढाइएको बताए। उनले भने, ‘अहिले पनि सवारी चालक अनुमति पत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन्। यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ।’

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाइने उनको दाबी छ। यातायात क्षेत्रमा विचौलियाको बिगबिगी अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिसकेको भन्दै उनले एक महिनाभित्र देशैभरि अनलाइन प्रणाली कार्यान्वयनमा आउने जनाए।

सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुङ्गो लागिसकेको पनि मन्त्री ज्वालाले बताए।

आफ्नो मन्त्रालय विभिन्न सेटिङ, बिचौलिया, मिलेमतो र अनुचित सम्बन्धको घेराभित्र रहेकोमा यस्ता विषयमा प्रश्न नउठ्ने गरी काम अघि बढाइएको उनले बताए। मन्त्री ज्वालाले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पार्ने क्रियाकलाप रोकिएको छ। योजना अलपत्र पर्ने तर व्यक्ति मोटाउने रोग पनि एक किसिमले समाधान गरेका छौँ ।’

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×