Technology Khabar ३ भाद्र २०८०, आईतवार
काठमाडौं ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। यसबाट यो भन्दा पहिले प्रयोग हुँदै आएको महंगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।
नेपाल टेलिकमले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा टावर जडान कार्य सम्पन्न गरी सो सेवा सञ्चालनमा ल्याएको हो।
यो क्षेत्रमा पहिले भीस्याट प्रविधिबाट सेवा उपलब्ध भएकोमा हाल नाराको लेकमा रहेको माइक्रोवेभ लिंकमार्फत मुचु र लिमीमा रहेका भीस्याटलाई विस्थापन गरी सेवा उपलब्ध गराइएको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन हुँदा यसअघि रहेको महंगो शुल्क तिर्नुपर्ने बाध्यता हटेको बताए।
गाउँपालिकाका ६ वडामध्ये फोरजी सेवा सुचारु भएसँगै वडा नम्बर १ देखि ५ का वासिन्दा इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन्। फोरजी सेवाको तीव्र गतिका कारण कार्यालयहरुमा काम गर्न समेत सहज भएको बताइएको छ।
प्रकाशित: ३ भाद्र २०८०, आईतवार