Technology Khabar २४ श्रावण २०८०, बुधबार
काठमाडौं ।
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ। यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो ।
अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ। अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ।
अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो।
विभागको नियमनमा अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्दै आएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाशले सेवाग्राहीलाई सहज रूपमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवा दिन अनलाइन सेवा प्रभावकारी हुने बताए। मन्त्री साउदले भने, “अनलाइन सेवाले कन्सुलर विभागमा सेवाग्राहीले भोग्नु परेको झन्झटको अन्त्य हुनुका साथै समयसमेत बचत हुने छ।”
यो सेवाको विस्तार अन्य विभाग र मन्त्रालयमा समेत आरम्भ गर्न सरकारले विशेष प्राथमिकताका साथ काम अघि बढाउने भएको छ । उनले विभागमार्फत प्रदान हुने सेवा छिटोछरितो बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि मन्त्री साउदले राहदानी विभागका काम थप पारदर्शी बनाउन र सेवाग्राहीलाई सहजताका साथ सेवा दिन प्रहरी चारित्रिक प्रमाणत्र अनलाइनबाटै प्रमाणीकरण व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन हुने जानकारी दिए।
नेपाली नागरिकलाई राहदानी लिँदा, वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको छ। अनलाइनमार्फत सेवा लिनका लागि स्वदेशमा भएका नागरिकले राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वैवाहिकका हकमा विवाह दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको रङ्गिन फोटो एक थान आफ्नो निवेदनसँगै अनलाइनमार्फत पेस गर्नुपर्ने छ।
त्यस्तै विदेशमा रहेका नागरिकका हकमा राहदानीको पृष्ठ २, ३ र ३१ कोे प्रतिलिपि, अन्तिम पटक नेपाल छाड्दाको नेपाल अध्यागमन विभागले दिएको अनुमतिपत्रको प्रतिलिपि, नागरिकताका प्रतिलिपि, विवाहितका हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, र पासपोर्ट साइजको रङ्गिन फोटो अनलाइन निदेवनका साथ पेस गर्नुपर्ने छ।
कागजतका हिसाबमा खासै फरबदल नभए पनि सरल र सहज सेवा दिन अनलाइनमार्फत प्रभावकारी हुने विश्वास कन्सुलर विभागले गरेको छ । विभागका अनुसार हरेक दिन करिब एक हजार पाँच सय जनाले यो प्रमाणपत्र लाइन लागेर लिँदै आएका थिए। अनलाइन भेरिफिकेसनपछि आउने प्रमाणपत्रलाई सेवाग्राहीले आफ्नो सुविधाअनुसार रङ्गिन प्रिन्ट लिन सक्ने छन्।
यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण लिन घण्टौँसम्म लाइनमा लागेर प्रमाणपत्र लिनु पर्दा नागरिकले सास्ती बेहोर्नुपर्ने झन्झटका साथै बिचौलियाले छिटो काम गराइदिन्छु भन्दै प्रमाणपत्रका लागि रकम असुल गरेको गुनासो थियो। गोरखापत्रबाट
प्रकाशित: २४ श्रावण २०८०, बुधबार