Technology Khabar १० श्रावण २०८०, बुधबार
काठमाडौं ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सांसदहरुले विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको बताएका छन्।
विद्युतीय व्यापार विधेयकले व्यावसाय प्रवद्र्धन गर्न नसक्ने सांसदहरुले बिहीबार विद्युतीय व्यापार विधेयकको सैद्धान्तिक छलफलको क्रममा बताएका हुन्।
सांसद डा. विमला राई पौडयालले व्यावसायलाई प्रवद्र्धन गरेर व्यवस्थित रुपमा नियम गर्नुपर्ने बताइन्। विधेयकले विद्युतीय व्यापरलाई संरक्षण गर्नु पर्नेमा उपभोक्ता मैत्री भएको उनको भनाई छ।
‘अहिले उपभोक्ता देखि उपभोक्ता, उत्पादकदेखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन।’ साना र मझौला खालका व्यवसायीका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न उनको माग छ।
सांसद जितेन्द्र नारायण देवले विद्युतीय व्यापार विधेयकले ईकमर्शको नियमन, व्यवस्थापन र विश्वसनियताको विषय उठान गरेर पनि उनीहरुलाई प्रबर्द्धन र सहजता प्रदान गर्नुपर्ने बताए।
प्रतिस्पर्धाको समयमा साना मझौला उद्योगलाई प्रोत्साहन गर्ने र क्रेता, बिक्रेता, मध्यस्थकर्ता उपभोक्तामैत्री हुनुपर्नेमा उनको जोड छ।
सांसद देवेन्द्र दाहालले विधेयकले के लाई नियमन र व्यवस्थित गर्न खोजेको हो त्यो स्पष्टरुपमा आउनुपर्ने बताए। अन्य निकायमा नियमअनुसार दर्ता भएर टिकटक, फेसबुकमा देखाएर सामान बिक्री गर्नेलाई पनि नियमन गर्न खोजिएको हो? भनेर उनले प्रश्न गरे।
सांसद भागवती न्यौपानेले विधेयकमा व्यक्तिगत खरिदको विषय मात्र आएको र संस्थागत खरिद नसमेटिएको बताइन्।
व्यावसायमा उपभोक्ताका साथै निर्माता, उत्पादक, बिक्रेता, क्रेता सबै महत्वपूर्ण हुने भएकाले विद्युतीय व्यापार विधेयक व्यवस्थित, विश्वसनिय, उपलब्धीमुलुक र फलदायक हुनुपर्नेमा सांसद सुरेशकुमार आलेमगरको जोड छ।
समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापारबाट बढी मात्रामा उपभोक्ता मर्कामा परेकाले उपभोक्तालाई विशेष ध्यान दिनुपर्ने बताउँदै विधेयक तीनै तहबीच समन्वयन र सन्तुलित किसिमको हुनुपर्ने बताइन्।
सभापति राईले डिजिटल प्रविधिले माग गरेको विधेयकमाथि सरोकारवाला, उपभोक्ता प्रतिनिधि, विज्ञसहित छलफल गरी समितिले दफाबार, विस्तृत छलफल गर्ने जानकारी दिइन्।
प्रकाशित: १० श्रावण २०८०, बुधबार