
काठमाडौं ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अनुसन्धान, अन्वेषण र वैज्ञानिक आविष्कार कार्यलाई प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले मङ्गलबार काठमाडौँमा आयोजना गरेको भीमसेन थापा राष्ट्रिय पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले नीतिगत व्यवस्था गरेरै वैज्ञानिक अनुसन्धान, अन्वेषण र आविष्कार गरिने बताए।
मुख्तियार स्वर्गीय थापाको स्मृतिमा दिइने “भीमसेन थापा राष्ट्रिय पुरस्कार” राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई प्रदान गर्दै मन्त्री खड्काले अन्वेषणलाई प्रवर्धन गर्न आवश्यक ऐन निर्माणका सन्दर्भमा छलफल भइरहेको बताए।
पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।
उनले भने, “संसारभरिका नेपाली वैज्ञानिकलाई अनुसन्धान, अन्वेषण, आविष्कारको कार्यमा आकर्षण गर्न ऐनको प्रबन्ध गर्नुपर्ने छ। महावीरजीसँग भएको सहमति अनुसार नै ऐनको व्यवस्था गरेर सरकारले काम अघि बढाउने छ।”
खड्काले विधेयक बनाउने सन्दर्भमा काम अघि बढिरहेको र ऐनमा अनुसन्धान, अन्वेषण, आविष्कारको कार्यमा कुनै अवरोध नहुने गरी कानुन बनाइने प्रस्ट पारे।
उनले उच्च तहबाट भएको सहमति अनुसार मन्त्रीपरिषद्मा पारित गरेर संसदमा लाने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री खड्काले सरकारले सुशासनका पक्षमा अभियान अधि बढाउने प्रयास गरिरहेको बताउँदै कमजोरी नदोहोर्याउने, देश, जनता र राष्ट्रका लागि काम गर्ने संकल्प गरे। गोरखापत्रबाट
प्रकाशित: १० श्रावण २०८०, बुधबार