
काठमाडौं ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं. ७० मा उल्लेख भएको “नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पूँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अवदेखि कुनै शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ” भन्ने व्यवस्था कार्यान्वयनमा आउन केहि समय लाग्ने भएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचनामार्फत नेपाल सरकारले तय गरेको उक्त नीति घोषणाको कार्यान्वयनको लागि नेपाल राजपत्रमा कम्पनी ऐन वमोजिम दस्तुर परिमार्जन सम्बन्धी सूचना प्रकाशित गर्ने प्रक्रियामा रहेको जनाएको छ।
निशुल्क गर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशित नभएसम्मको लागि साविक वमोजिम शुल्क तिरी नयाँ कम्पनी दर्ता गर्न र कम्पनीको पूँजी वृद्धि गर्ने कार्य निरन्तर भईरहेको उल्लेख गरेको छ।
कम्पनी रजिष्टार कार्यालयका सूचना अधिकारी शेखर बाबु कार्कीकाअनुसार परिमार्जित नीति वमोजिमको सुविधाको लागि केही दिन प्रतिक्षा गर्न वा साविक वमोजिम शुल्क तिरी कम्पनी दर्ता र पूँजी वृद्धिको सेवा लिन सकिनेछ।
तर कार्यालयले कहिलेदेखि उक्त सुबिधा उपलब्ध हुनेछ भन्ने कुनै जानकारी दिएको छैन्।
विशेषगरी स्टार्टअपहरुका लागि दर्ता प्रकृया सहज र सुलभ बनाउने गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त नीति बजेटमार्फत ल्याएका हुन्।
प्रकाशित: १ श्रावण २०८०, सोमबार