
काठमाडौं ।
ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले ग्यालियम र जर्मेनियममा चीनको हालैको निर्यात नियन्त्रणले आफ्नो उत्पादनमा प्रत्यक्षरूपमा असर नपर्ने अपेक्षा गरेको छ। चीनको वाणिज्य तथा भन्सार मन्त्रालयले सोमबार अमेरिकासँग चलिरहेको व्यापार विवादसँग सम्बन्धित सुरक्षा चिन्ताका कारण अगस्ट १ गतेदेखि यी दूर्लभ धातुहरूको निकासीका लागि इजाजतपत्र आवश्यक पर्ने नियम ल्याएको छ।
एप्पल र इन्टेल जस्ता ठूला टेक कम्पनीहरूका लागि महत्त्वपूर्ण आपूर्तिकर्ताको रुपमा रहेको टीएसएमसीले यस निर्यात प्रतिबन्धहरूले आफ्नो सञ्चालनमा प्रत्यक्ष असर नपर्ने विश्वास व्यक्त गरेको उल्लेख छ। साथै कम्पनीले सम्भावित दीर्घकालीन अप्रत्यक्ष नतिजाहरू विस्तृत नगरे पनि स्थितिलाई नजिकबाट अनुगमन गर्ने बताएको छ।
विश्वव्यापीरूपमा सबैभन्दा ठूलो सम्झौताको साथ चिप निर्माता टीएसएमसीले सिलिकन वेफर्सको विश्वव्यापी उत्पादनको आधा भन्दा बढी नियन्त्रण गर्दछ। उक्त सिलिकन वेफर्स कस्टमर्स इलेक्ट्रोनिक्सदेखि सैन्य प्रणालीहरू सम्मका विभिन्न एप्लिकेसन्समा प्रयोग हुने सेमिकन्डक्टरको एक महत्त्वपूर्ण कम्पोनेन्ट (घटक) हो।
चीन र अमेरिकाबीच तनाव बढ्दै गएपछि चिनियाँ सरकारले यस्तो घोषणा गरेको बताइएको छ। सेमीकन्डक्टर्स र इलेक्ट्रिक गाडीहरूमा व्यापक रूपमा प्रयोग हुने दुई धातुहरू ग्यालियम र जर्मेनियमको निर्यातमा प्रतिबन्ध लगाउने बेइजिङको निर्णयलाई आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग हुने महत्वपूर्ण प्रविधिहरूमा चीनको पहुँच सीमित गर्ने उद्देश्यले अमेरिकी निर्यात प्रतिबन्धको प्रतिक्रियाको रूपमा हेरिएको छ।
भूराजनीतिक तनावको बावजुद टीएसएमसीका अध्यक्ष मार्क लिउले चिन्ताहरू कम गर्न र दुई महाशक्तिहरू बीचको सम्बन्ध सुधार गर्न ताइवानको चिप उद्योगको सम्भावित भूमिकालाई हाइलाइट गर्न खोजेको उल्लेख गरिएको छ। ताइवानको चिप उद्योग फस्टाएको खण्डमा यसले भूराजनीतिमा सकारात्मक प्रभाव पार्ने लिउले तर्क गरेका छन्। चीन र संयुक्त राज्य अमेरिका दुबैले टीएसएमसीको चिप्सको अपरिहार्यता बुझेकाले उनीहरूको कार्यहरूमा थप सतर्कता अपनाउन सक्ने लिउले थप उल्लेख गरेको रिपोर्टमा बताइएको छ।
चिप उत्पादक ताइवानले विश्वव्यापी आपूर्ति श्रृंखलामा एक महत्वपूर्ण भूमिका खेल्दै स्मार्टफोन, कार र सैन्य उत्पादनहरुको लागि समेत चिप प्रदान गर्ने गरेको छ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार