Technology Khabar १९ असार २०८०, मंगलवार
काठमाडौं ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ। विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ।
तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने विभागले जनाएको छ। विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बसेको विभागको बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुर्याउने, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी सङ्गठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
यसैगरी, विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवनमा राख्ने निर्णय गरिएको छ।
विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ। बैठकले निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ।
निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं रहेका छन्।
त्यस्तै, तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहेका छन्।
प्रकाशित: १९ असार २०८०, मंगलवार