Technology Khabar १९ असार २०८०, मंगलवार
काठमाडौं ।
विद्युतीय कार निर्माता कम्पनी टेस्लाले तीन महिनामा रेकर्ड संख्यामा ईभी डेलिभरी गरेको छ। कम्पनीले आफ्नो ईभीको मूल्य घटाएकाले जुनको अन्त्यसम्म रेकर्ड संख्यामा डिलिभरी गरेको बताएको छ।
टेस्लाले प्रतिद्वन्द्वी उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न अमेरिका, बेलायत र चीनलगायतका बजारहरूमा मूल्य घटाएको छ।
यस हप्ता प्रमुख चिनियाँ कार निर्माताहरूले पनि जुनमा बिक्री वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेका छन्।
यस वर्षको सुरुमा टेस्लाका सीईओ इलन मस्कले कम्पनीले कम नाफाको साथ उच्च बिक्री पछ्याउने बताएका थिए। यो कम्पनीको लागि ‘सही विकल्प’ हो।
टेस्लाले आईतबार दोस्रो त्रैमासिकमा ४ लाख ६६ हजार १४० यूनिट ईभी डेलिभर गरेको बताएको छ। ग्त वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशत बढी हो।
यसैबीच कम्पनीले सोही अवधिमा सवारी साधनको उत्पादन करिब ४ लाख ८० हजार पुगेको जनाएको छ।
‘टेस्लाले भोल्युम निर्माता बन्न रणनीतिक छनौट गरेको छ,’ सल्लाहकार फर्म अटोमोबिलिटीका संस्थापक र प्रमुख कार्यकारी बिल रुसोले बीबीसीलाई भने।
‘यो बिक्री वृद्धिको लागि मुख्य योगदानकर्ता थियो, किनभने यसको मुख्यतया उच्च–भोल्युम मोडेल ३ र मोडेल वाईले प्राइस वारबाट फाइदा उठायो,’ उनले थपे।
लगानी फर्म वेडबस सेक्युरिटीजका ड्यान इभ्सले बीबीसीलाई बताए कि ‘चीनमा मूल्य कटौती एक स्मार्ट पोकर चाल हो जुन टेस्लाको लागि व्यापक रूपमा सफल थियो।’
उत्तर अमेरिकापछि टेस्लाका लागि चीन दोस्रो ठूलो बजार हो।
स्थानीय इलेक्ट्रिक कार निर्माताहरूबाट प्रतिस्पर्धाको सामना गरिरहेकाले कम्पनीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा मूल्य घटाउँदै आएको छ।
यस हप्ता बेइजिङमा आधारित लि-अटोले जुनमा आफ्नो डिलिभरीहरू ३२ हजार ५७५ यूनिज पुगेको बताएको थियो। यो कम्पनीको हालसम्मको उच्च डिलिभरी हो। लगातार कम्पनीको बिक्रीले नयाँ रेकर्ड बनाइरहेको छ।
यसैबीच, यस महिनामा सांघाईस्थित निओ र ग्वाङ्झाउमा आधारित एक्सपेङको डिलिभरी क्रमशः १० हजार ७०७ र ८ हजार ६२० यूनिट पुगेको छ।
टेस्ला विश्वका अन्य स्थानमा बढ्दो प्रतिस्पर्धा र उच्च लागतको प्रभावसँग जूझिरहेको छ।
यस्तो प्रभावलाई कम गर्न कम्पनीले प्रमुख अस्त्रको रुपमा मूल्य कटौतीलाई अघि सारेको छ।
बारम्बारको मूल्य कटौतीले नाफा कम गरे पनि टेस्लाले आफ्नो ईभीको मूल्य स्थिर गर्ने कुनै योजना नभएको अप्रिलमा भनेको थियो।
‘हामी प्राइस वार सुरु गर्दैनौं। हामी सिर्फ स्केलमा किफायती बनाउन मूल्यहरू घटाउँदैछौं,’ मस्कले ट्विटरमा लेखेका थिए।
कारको बिक्री बढेकोले आफ्नो समग्र राजश्व एक वर्ष अघिको पहिलो त्रैमासिकको तुलनामा करिब एक चौथाईले बढेको टेस्लाले बताएको थियो।
यद्यपि, मूल्य कटौती र कच्चा पदार्थ र अन्य वस्तुको उच्च लागतका कारण सोही अवधिमा टेस्लाको नाफा २४ प्रतिशतले घटेको छ।
कम्पनीले जुलाई १९ मा दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्नेछ।
प्रकाशित: १९ असार २०८०, मंगलवार