प्रधानमन्त्री दाहाल सामाजिक सञ्जालमा हुने छलफल प्रति आक्रामक

  • Technology Khabar | १३ असार २०८०, बुधबार
प्रधानमन्त्री दाहाल सामाजिक सञ्जालमा हुने छलफल प्रति आक्रामक

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा हुने छलफलहरु प्रति आक्रामक भएका छन्। उनले सामाजिक संजालले राष्‍ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भन्दै उनले त्यस्ता प्लेटफर्ममा सतही विषय हाबी भएकोमा रोष प्रकट गरे।

प्रधानमन्त्रीले वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा भएगरेका कार्यहरूका बारेमा प्रतिनिधिसभामा सम्बोधन गर्दै सामाजिक सञ्जाल प्रति आक्रोश व्यक्त गरेका हुन्।

उनले भने, “तर, सामाजिक सञ्‍जालका चित्रहरूले राष्‍ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ। हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषयविज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन? जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले त महत्त्व पाइरहेका छैनन्? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्‍जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन?”

प्रधानमन्त्री दाहाले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने भन्दै त्यसलाई तथ्यात्मक आधार चाहिने बताए।

“मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्‍नुपरेन। बिहान एक गाग्री पानीका लागि तीन घन्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन चार घन्टा पैदल हिड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन। सञ्‍चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्‍ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन। आज त्यो पुस्तालाई हिजो देशमा दुधकै नदी बहन्थ्यो झैं भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिँदै छ,” प्रधानमन्त्रीले आक्रोश व्यक्त गरे।

यसका साथै बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै गरेको र सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको स्वीकार गरे।

“सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिनेछ भन्‍ने मेरो विश्‍वास छ,” उनले भने।

प्रकाशित: १३ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...