
काठमाडौं ।
सरकारले रेडियो नेपालको खुमलटार स्थित जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई भोगचलनका लागि दिएको छ। खुमलटारमा रहेको करिब ४३ रोपनी जग्गा सरकारले दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई दिएको हो।
आज असार १२ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा लामोसमयदेखि रोकिएको सो प्रकृया अगाडि बढाउँदै जग्गा प्राधिकरणको नाममा कायम गर्ने निर्णय गरिएको स्रोतले जानकारी दिएको छ।
‘आजै प्रस्ताव गएको र उक्त जग्गा प्राधिकरणको नाममा दिने निर्णय भएको हो,’ स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।
यसअघि २०७५ फागुन २८ गते बसेको तत्कालिन मन्त्रिपरिषदको बैठकले नै खुमलटारको जग्गा दूरसञ्चार प्राधिकरण र ज्ञान पार्कको नाममा आईटी पार्क निर्माणका लागि दिने निर्णय गरेको थियो। त्यसमध्ये करिब ४३ रोपनी दूरसंचार प्राधिकरणले प्राप्त गर्नेछ।
रेडियो प्रसार सेवा विकास समितिअन्तरगत रहेको साबिक ललितपुर उपमहानगर नगरपालिका वडा नम्बर ५ (५क्ष) को कित्ता नम्बर २४७ समेतको ४२ रोपनी जग्गामा नेपाल दूरसंचार प्राधिकरणले भोगअधिकार गर्नेगरि नामसारी गर्ने निर्णय गरेको बताईएको छ।
तत्कालिन सरकारले रेडियो नेपालको खुमलटारस्थित ४२ रोपनी जग्गा दूरसंचार प्राधिकरणलाई ४० लाख प्रति आनाको दरमा दिने निर्णय गरेको थियो।
दूरसंचार प्राधिकरणले पायो रेडियो नेपालको खुमलटारको ४२ रोपनी जग्गा, प्रति आना ४० लाख रुपैयाँ
हालको मन्त्रिपरिषदको उक्त निर्णयमा जग्गाको क्षेत्रफल र मूल्यांकन रकममा हेरफेर भए/नभएको बारेमा कुनै जानकारी नभएको स्रोतले बताएको छ।
“पहिलेकै मूल्यांकन छ वा के कति छ भन्ने बारेमा जानकारी छैन्। भोली मात्र थाहा हुनसक्छ,” स्रोतले भन्यो।
यदि सरकारले प्रति आना ४० लाख रुपैयाँमा ४२ रोपनी जग्गा दिने निर्णय गरेको अवस्थामा सो जग्गा किन्नको लागि दूरसंचार प्राधिकरणले कम्तिमा २ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रेडियो नेपाललाई तिर्नुपर्ने हुन्छ।
यसअघि रेडियो नेपालले सो जग्गा अन्य कम्पनीलाई उपयोगका लागि दिएको थियो। रेडियो नेपालले सरकारको निर्णयपछि २०७६ भदौ २० गते नै सार्वजनिक सूचना प्रकाशित गर्दै कुवेर ज्ञान हाउजिङ्ग कम्पनी प्रालिले सम्झौतामार्फत लिएको सो जग्गा खाली गर्न भनेको थियो।
सूचनाअनुसार २०७४ कात्तिक २६ गते गरिएको रेडियो नेपाल र सो कम्पनीबिचको सम्झौता रद्ध गरिएको जानकारी गराएको थियो ।
प्राधिकरणले २०७४ सालमै सो जग्गा प्रति आना ४० लाख रुपैयाँमा किन्ने योजनाअनुसार बजेट छुट्याएको थियो। तर लामो समयसम्म जग्गा नपाएपछि उक्त बजेट अन्य योजनामा खर्च गरिएको थियो।
सो क्षेत्रमा रहेको प्राधिकरणलाई दिने भनिएको र ज्ञान पार्क बनाउने भनिएको जग्गामध्ये कतिपय रेडियो नेपालको नाममा नहुँदा समस्या भएको थियो। पछि सरकारले भूमिसुधार मन्त्रालयमार्फत जग्गा रेडियो नेपालको नाममा ल्याएको थियो।
यसकारणले ज्ञान पार्क बनाउनका लागि सूचना प्रविधि विभागको नाममा जग्गा पास नहुँदा उक्त पार्कको घेराबेरा तथा डिपिआरको लागि गरिएको टेन्डर नै रद्ध गरिएको थियो।
सम्बन्धित समाचार-
खुमलटारमा ज्ञान पार्क निर्माणको काम अनिश्चित, डिपिआरको टेण्डर ८ महिनापछि रद्द
यस्तै केहि समयअघि प्रतिनिधि सभामा एक सांसदले सो जग्गा प्राधिकरणलाई दिन नहुने र खुला क्षेत्र मास्न नहुने भन्दै विरोध गरेका थिए।
सम्बन्धित समाचार-
हाल प्राधिकरणले पाएको जग्गामा नियामक निकायले आफ्नो कार्यालयका साथै स्याटेलाइटका लागि अर्थ स्टेशन बनाउने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले त्यसबेला टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए।
प्रकाशित: १२ असार २०८०, मंगलवार