
काठमाडौं ।
रेडियो नेपालको खुमलटार स्थित जग्गा दूरसञ्चार प्राधिकरणलाई दिने विषयमा सांसद रोशन कार्कीले चर्को आपत्ति जनाएकी छिन्।
आईतबार प्रतिनिधि सभाको बैठकमा सांसद कार्कीले पर्ति जग्गाहरु संरक्षण गर्ने सरकारको नीति भए पनि त्यसको विपरित दूरसञ्चार प्राधिकरणलाई भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने विषयको चर्को विरोध गरेकी हुन्।
‘पर्ति जग्गाहरुमा उद्यान बनाएर संरक्षण गर्ने सरकारको नीति छ। किन हो किन सरकारले पर्ति जग्गा देख्नै हुँदैन,’ कार्कीले भनिन्, कि व्यक्तिको नाममा दर्ता हुन्छ कि लगेर खाइन्छ।’
ललितपुरको सम्पत्तिको रुपमा रहेको रेडियो नेपालको ४३ रोपनी एक मात्र खुल्ला जमिन हो। नेपाल भूकम्पिय जोखिम दृष्टिकोणले अत्यन्तै सम्बेदनशिल ठाउँ भएकाले खाली जमिन कुनै संस्थालाई भवन निर्माणको प्रयोजनका लागि दिन नहुने उनको भनाई छ।
‘भोलि त्यहाँ केही भयो ज्यान जोगाउन मान्छे कहाँ जाने। त्यस्तो ठाउँ दूरसञ्चार प्राधिकरणलाई भवन बनाउन दिने भनेर कार्यक्रममा राखिएको छ,’ उनले भनिन्, ‘यस्ता खालको धृष्टता नगरियोस्। त्यो जनताको सम्पत्ति हो। तपाईहरुले लगेर कसैलाई दिन पाउनु हुन्न।’
२०७५ फागुन २८ गते सरकारले रेडियो नेपालको जग्गा प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको थियो। तर अहिलेसम्म यो निर्णय कार्यान्वयनमा भने आइसकेको छैन।
प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार