Technology Khabar २२ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागु गर्ने तयारी गरेको छ।
शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागु गर्नका लागि विषयविज्ञसँग छलफल थालेको हो।
महानगरले आइतबार विषयविज्ञ र सरोकारवालासँग आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछाडि परिने बताए। डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उनीहरूको दाबी थियो।
पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँगै, प्रविधिलाई सिपसँग, सिपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई आयआर्जनसँग जोड्नु जरुरी रहेको बताए। कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले शिक्षालाई प्रविधिसित जोड्न ढिलो गर्न नहुनेमा जोड दिए।
पूर्वविद्यार्थी समाज, आमा समूह गठनसँगै गैरआवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागु गर्न सहजीकरण गर्ने इक्वालिटी फाउन्डेसन अमेरिकाका अध्यक्ष प्रा मेदनी अधिकारीले प्रतिबद्धता जनाए।
महानगरका प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए। उनले प्रविधिमार्फत घरमै बसेर पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने अवस्था रहेको उल्लेख गरे। त्यसका लागि अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको उनको बुझाइ छ। गोरखापत्रबाट
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार