Technology Khabar १९ बैशाख २०८०, मंगलवार
काठमाडौं ।
काठमाडौं महानगरपालिका(कामनपा)ले आफ्नो क्षेत्र भित्रको तार व्यवस्थापनका लागि १५ दिने अल्टिमेटम सहितको सूचना प्रकाशित भएसँगै तार व्यवस्थापनका लागि छलफल समेत शुरु भएको छ।
कामनपाले गत साता बैशाख १२ गते सार्वजनिक सूचना जारी गर्दै अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई भनेको थियो।
सोहि विषयमा आज सोमबार नेपाल दूरसञ्चार प्राधिकरणको अगुवाईमा कामनपाको पूर्वाधार शाखामा छलफल भएको छ।
उक्त छलफलमा प्राधिकरणका उप निर्देशकसहित इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का सीईओ तथा महासचिव सहभागी रहेका थिए।
छलफलमा कामनपा भित्र तार व्यवस्थापन गर्ने बारेमा छलफल गरिएको थियो।
उक्त छलफलमा कामनपा प्राधिकरण र आइस्पानको समन्वयनमा तार व्यवस्थापन गर्ने सहमति भएको छ।
यसको लागि विभिन्न स्थानमा रहेका अव्यवस्थित तारहरुको अवस्थाको बारेमा अध्ययन समेत गर्ने सहमति भएको आइस्पानका अध्यक्ष सुभाष खडकाले जानकारी दिए।
यसैगरी तार व्यवस्थापनका लागि सहकार्य गर्दै तालिका समेत तयार पार्नका लागि प्राधिकरणमा बुधबार थप बृहत छलफल हुने भएको छ।
महानगरपालिकाले तार व्यवस्थापनका लागि सो सूचनामा सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको छ।
महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ। महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैँले हटाउने उल्लेख गरेको छ।
सम्बन्धित समाचार-
यसअघि आइस्पानले कामनपा र दूरसञ्चार प्राधिकरणको सहकार्यमा सिंहदरबार वरिपरिको क्षेत्रमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापन गरिसकेको छ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार