
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ ले फ्रान्चाइजीको अवधारणा सार्वजनिक गरेको छ ।
जसअनुसार डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको हो ।
डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।
डिजी पेले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू सँग फ्रान्चाइजीको सहकार्य गर्दै आएको छ । यस्तै थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको कम्पनीको भनाइ छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु भएको कम्पनीको भनाइ छ ।
यसका लागि डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यस योजना अन्तर्गत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेका टार्गेट पुरा भएको अवस्थामा प्रति महिना ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।
डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरू प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आबद्ध हुँदा ५०० रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, न्युज टेलिभिजन च्यानल एबीसी न्युुज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपाल टप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८२५ रुपैयाँको दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट प्राप्त हुने बताइएको छ ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार