यस हप्ता राती आकाशमा एकसाथ पाँच ग्रहहरू पङ्क्तिबद्ध देखिने

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
यस हप्ता राती आकाशमा एकसाथ पाँच ग्रहहरू पङ्क्तिबद्ध देखिने

काठमाडौं ।

यस हप्ता राती आकाशमा हाम्रा पाँच छिमेकी ग्रहहरू एकसाथ पङ्क्तिबद्ध रुपमा देखिने भएको छ। धेरै प्रकाश प्रदूषण नभएको स्पष्ट क्षेत्रमा साँझ सूर्यास्त पछि पश्चिमतिरको दिशामा केही हदसम्म दूर्लभ मानिएको उक्त ग्रहहरूको पङ्क्तिबद्धता हेर्न सकिने उल्लेख गरिएको छ।

रातको आकाशमा हाम्रा पाँच छिमेकी ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र युरेनस व्यवस्थितरुपमा एकै लाइनमा देख्न सकिने इनग्याजेटले रिपोर्ट गरेको छ।

साथै, उक्त ग्रहहरूको पङ्क्तिबद्धता यो पूरै हप्ता एकै समयमा देखिने बताइएको छ। त्यसैगरी अमेरिकाबाट अझै उत्कृष्ट दृश्य देखिने अपेक्षा गरिएको छ। उक्त ग्रहहरू क्षितिज रेखादेखि आकाशको आधा बाटोसम्म हुनेछन्। यद्यपि, उक्त ग्रहहरूको पङ्क्ति भने सूर्यास्तपछि लगभग आधा घण्टाको लागि मात्र देखिने छ।

दूरबीनले उक्त ग्रहहरू पत्ता लगाउने काम सजिलो बनाउने भएतापनि नाइट स्काई (आईओएस) वा स्काई म्याप (एन्ड्रोइड) जस्ता अगुमेन्टेड रियालिटी स्टारगेजिङ एपहरूले गर्दा ग्रहहरू पत्ता लगाउनको लागि दूरबीन भने आवश्यक नपर्ने उल्लेख गरिएको छ।

यस हप्ता बृहस्पति, शुक्र र मंगल ग्रह सबैभन्दा उज्यालो र पत्ता लगाउन सजिलो हुने नासाका खगोलविद् बिल कुकले एसोसिएटेड प्रेसलाई बताएका छन्। जब ग्रहहरूको परिक्रमाले तिनीहरूलाई पृथ्वीको परिप्रेक्ष्यबाट सूर्यको एक छेउमा राख्छ तब गएर पङ्क्तिबद्धता हुने उनले उल्लेख गरे।

यद्यपि यो ब्रह्माण्डीय गतिबिधि केही हदसम्म दूर्लभ घटना भएको र गत वर्षको गर्मीमा पनि यस्तै भएको बताइएको छ। यो हप्तामा हेर्न नसक्नेहरुले आगामी जुन महिनामा अर्को मौका पाउने थप रूपमा उल्लेख गरिएको छ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...