
काठमाडौं ।
– निर्दोष घोरसाइने
नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/८० भित्रै कोड डिभिजन मल्टीपल एक्सेस (सीडीएमए) सेवा बन्द गर्ने भएको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले चालु आर्थिक वर्ष भित्रै सीडीएसए सेवा बन्द गर्नेगरी तयारी भइरहेको टेक्नोलोजीखबरलाई जानकारी दिए।
यसअघि २०७६ माघ २२ गते नेपाल टेलिकमको १६ औं वार्षिकोत्सवमा तत्कालिन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सीडीएमए सेवा बन्द गर्ने तयारी भएको बताएका थिए।
तर अहिलेसम्म नेपाल टेलिकमले सीडीएम सेवा पूर्णरुपमा भने बन्द गर्न सकिरहेको छ। सीडीएमए प्रयोग गर्ने ग्राहक धेरै भएकाले एकैपटक सेवा बन्द गर्न समस्या भइरहेको प्रवक्ता अधिकारीको भनाइ छ।
नेपाल दूरसञ्चार प्राधिकरणको पुस मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार हाल नेपाल टेलिकमका सीडीएमए प्रयोगकर्ता ३ लाख १९ हजार ६९४ छन्। सीडीएमएका ग्राहकलाई अन्य सेवामा माइग्रेट गरेर मात्र सेवा बन्द गर्ने योजनामा नेपाल टेलिकम रहेको छ।
‘सीडीएमए ग्राहकलाई माइग्रेट नगरिकन सेवा बन्द गर्न मिल्दैन। ग्राहकको सेटमा सीडीएमए चलिरहेसम्म बन्द गर्न मिल्दैन। ग्राहक माइग्रेट गर्नका लागि विभिन्न अफर तथा प्याकेजहरु ल्याएका छौं,’ प्रवक्ता अधिकारीले भने, ‘फिक्स्ड रेटका कारण पनि केही ग्राहक सीडीएमएमै रहनु भएको छ। सबै ग्राहक माइग्रेट हुने वित्तिकै सीडीएमए बन्द गछौं।’
सीडीएमए ग्राहकलाई उपयुक्त विकल्पमा सिफ्ट हुने अवसर प्रदान गरेर सेवा बन्द गर्ने टेलिकमको रणनीति छ।
प्रविधिका आधारमा सीडीएमए र जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) एउटै भएकाले नेपाल टेलिकमले सीडीएमए सेवा बन्द गर्न लागेको हो। फोरजी प्रविधि प्रयोगमा आउनु अघि वायरलेस सेवा सीडीएमए र जीएसएम दुई धारमा विभाजित थियो। तर फोरजीमा आईपुग्दा सीडीएमए र जीएसएमको प्रविधि एक अर्कामा समाहित भए। र, त्यसपछि दुवै सीडीएमए र जीएसएमको गन्तव्य फोरजी प्रविधि हुन पुग्यो। सीडीएमएको उन्नत प्रविधि पनि जीएसएमले लिने गरेर फोरजीमा रुपान्तरण भयो।
आईटीयू (इन्टरनेस्नल टेलिकम्यूनिकेसन यूनियन) ले तयार गर्ने मापदण्ड र उत्पादकहरुले निर्माण गर्ने प्रविधि पनि एउटै हुन पुग्यो। त्यसपछि क्रमिक रुपमा सीडीएमएको विश्वव्यापी प्रयोग कम हुँदै गयो। सीडीएमएको स्थान जीएसएमले लियो।
दुई ओटै सेवालाई एक साथ विस्तार गर्दा सीडीएमए उपकरणको अभाव हुनुका साथै लागत पनि महँगो पर्न जाने देखिन्छ। त्यसैले अहिले टेलिकमले जीएसएमलाई नै प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिएको उनी बताउँछन्।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार