
काठमाडौं ।
स्मार्टफोन आज हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। हामी दिनमा कति काम र कति पटक स्मार्टफोन प्रयोग गर्छौं भन्ने सहि हेक्का समेत हुँदैन्। यदि स्मार्टफोनलाई सही तरिकाले र आवश्यकता अनुसार प्रयोग गर्ने हो भने यो राम्रो ग्याजेट हो। स्मार्टफोनले बिहानदेखि बेलुकासम्म राम्रोसँग काम गर्नको लागि यसको ब्याट्री पावर धेरै महत्त्वपूर्ण छ।
५००० देखि ६००० एमएएच क्षमता ब्याट्री भएका फोनहरु आज बजारमा छन् । तर, अझै पनि यस्ता धेरै स्मार्टफोन छन् जसमा आज पनि फास्ट चार्जरको सुविधा उपलब्ध छैन। विशेष गरी २०,००० रुपैयाँको दायरामा आउने फोनहरूमा सामान्यतया १८ वा २२ वाटको चार्जर मात्र उपलब्ध हुन्छ। यस्तो अवस्थामा महँगो स्मार्टफोनको तुलनामा यी फोनहरू ढिलो चार्ज हुन्छन्।
आज यो लेख मार्फत हामी तपाईलाई आफ्नो स्मार्टफोन चाँडै चार्ज गर्ने तरिका बताउछौँ।
यी कुराहरू ध्यानमा राख्नुहोस्
-यदि तपाइँ कामको लागि जानु परेको छ र तपाइँको मोबाइल फोनको ब्याट्री कम छ र तपाइँ यसलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने, फोनलाई एयरप्लेन वा फ्लाइट मोडमा राखेर त्यसपछि मात्र चार्जमा राख्नुहोस्। यस्तो अवस्थामा तपाईको स्मार्टफोनको कनेक्टिभिटीका सबै सुविधाहरू जस्तै ब्लुटुथ, वाइफाइ, डाटा आदि बन्द हुन्छन् र ब्याकग्राउन्डमा ब्याट्री खेर जाँदैन र मोबाइल चाँडै चार्ज हुन्छ।
-सधैं मोबाइल फोनको साथमा उपलब्ध चार्जर मात्र प्रयोग गर्नुहोस्। बजारबाट लिएको सस्तो चार्जर चार्ज गर्न प्रयोग गर्नुभयो भने ब्याट्री बिस्तारै चार्ज हुन्छ र यसले ब्याट्री समेत खराब हुन्छ।
-जब मोबाइल फोन चार्जमा हुन्छ, यसको डिस्प्ले अफ राख्नुहोस् वा यसमा कुनै काम नगर्नुहोस्। फोनको डिस्प्ले अन हुँदा त्यसले पनि ब्याट्री खपत हुन्छ र यसले डिस्प्ले अन हुँदा ब्याट्री चार्जमा धेरै समय लाग्दछ।
– फोनलाई फास्ट चार्ज गर्नका लागि बजारमा फास्ट चार्जर समेत उपलब्ध छन जसले फोनलाई तिब्रगतिमा चार्ज गर्न सकिन्छ। तर तपाईँको फोनमा फास्ट चार्जिङ्ग सपोर्ट छैन भने यसले फोनलाई बिगार्न सक्ने संभावना रहन्छ। त्यसैले फोनमा फास्ट चार्जिङ्ग छ वा छैन भन्ने सुनिश्चित गर्नुहोस्।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार