
काठमाडौं ।
एप्पलले हालै विकासकर्ताहरूको लागि आईओएस १६.४ रिलिज उम्मेद्वार रोल आउट गरेको र त्यसमा मोडल कोड ए३०४८ भएको नयाँ एयरपड्स र मोडल कोड ए२९६८ भएको नयाँ एयरपड्स केस समावेश रहेको छ। उक्त नयाँ एयरपड्स गत वर्ष लन्च गरिएको लाइटनिङ पोर्टसहितको एयरपड्स प्रो २को यूएसबी–सी संस्करण हुन सक्ने सम्भावना रहेको प्रसिद्ध विश्लेषक मिङ ची–कुओले बताएको उल्लेख गरिएको छ। साथै उक्त एयरपड्सहरूको ठूलो ढुवानी २०२३को दास्रो र तेस्रो क्वाटरको बीचमा अपेक्षित गरिएको बताइएको छ।
कुओले एयरपड्स प्रो २को यूएसबी–सी संस्करणको अन्य जानकारीको बारेमा भने केही पनि खुलासा नगरेको बताइएको छ। साथै उक्त नयाँ एयरपड्स प्रो २ यूएसबी–सी फिचर गरिएको चार्जिङ केसमा आउँदैछन् वा त्यहाँ अन्य कुनै हार्डवेयर परिवर्तनहरू पनि गरिनेछन भन्ने बारेमा स्पष्टता नभएको थप बताइएको छ।
त्यसैगरी एप्पलले यस वर्ष लाइटनिङ्ग पोर्टको सट्टामा यूएसबी–सी पोर्ट समावेश गरेर आईफोन १५ लाइनअप लन्च गर्ने अपेक्षा गरिएको छ। एप्पलको हाल एयरपड्स २ र ३ को यूएसबी–सी संस्करणहरूको लागि कुनै योजना नभएको कुओले दाबी गरेको बताइएको छ। त्यसैले गर्दा एयरपड्स प्रो २ लाइटनिङ पोर्टबाट यूएसबी–सी पोर्टमा स्विच गर्ने पहिलो टीडब्लूसी इयरफोन हुने सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार