
काठमाडौं ।
अटोमोबाइल निर्माता बीएमडब्लूले ब्राण्डको पहिलो शुद्ध इलेक्ट्रिक ५ सिरिज सेडान बीएमडब्लू आई५ को अनावरण “२०२३ बीएमडब्लू वार्षिक बैठक” मा गरेको छ र उक्त सेडान अक्टोबरमा लन्च गर्न लागिएको उल्लेख गरिएको छ।
उक्त लन्च बीएमडब्लूको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हुने उल्लेख गरिएको छ। ५० वर्षदेखि कम्पनीको फ्ल्यागशिप मोडेलको रूपमा रहेको ५ सिरीज १९७२ मा लन्च भएदेखि १० मिलियन भन्दा बढी युनिटहरु उत्पादन गरिएको बताइएको छ। यद्यपि, नयाँ बीएमडब्लू आई५ आफ्नो पूर्ववर्ती संस्करणको एक अपडेट मात्र नभएर पूर्ण रूपमा इलेक्ट्रिफाईड मोडेल भएको र यसले ब्रान्डलाई “वास्तवमै अद्वितीय बिक्री बिन्दु” प्रदान गर्ने बीएमडब्लू एजीको बोर्ड अफ म्यानेजमेन्टका अध्यक्ष ओलिभर जिप्सेले बताएका छन्।
त्यसैगरी उक्त बैठकको क्रममा जिप्सेले नयाँ बीएमडब्लू आई५ सिरिज सेडानको लाइनअपमा बिएमडब्लु एम जीएमबीएचबाट शुद्ध इलेक्ट्रिक पर्फमेन्स मोडलहरू पनि समावेश गरिने घोषणा गरेका थिए। यसका साथै कम्पनीको यस कदम ब्रान्डको इलेक्ट्रिक भेहिकल लाइनअप विस्तार गर्ने प्रतिबद्धताको एक हिस्सा भएको बताइएको छ। आगामी धेरै नयाँ मोडलहरूमध्ये आई५ पहिले आउने उल्लेख गरिएको छ।
युरोप स्थित बिएमडब्लुको सबैभन्दा ठूलो प्रोडक्सन साईट रहेको दक्षिणी बाभेरियाको दिङगल्फिङ प्लान्टमा आगामी महिनाहरूमा आई५ सेडानको उत्पादन सुरु गरिने बताइएको छ। मूल्य निर्धारणको बारेमा कुनै घोषणा नभए तापनि बिएमडब्लुले आफ्नो लाइनअपमा “लो–प्राईस्ड इलेक्ट्रिक कार” प्रस्तुत गर्ने योजना बनाएको संकेत गरेको र कम मूल्यको इलेक्ट्रिक कारले थप उपभोक्ताहरूलाई ब्रान्डतर्फ आकर्षित गर्ने बताइएको छ।
नयाँ ५ सिरिजमा आईड्राईभ ८.५, बिएमडब्लुको आईएक्स इलेक्ट्रिक एसयूभी जस्तै कर्भड डिस्प्ले र नयाँ डिजिटल सेवाहरू फिचर गरिने भएकाले यसलाई पहिलेभन्दा बढी डाइनामिक र कम्फर्टेबल बनाउने बताइएको छ। २०२२ को सबैभन्दा धेरै बिक्रि हुने बिएमडब्लु एम मोडलको इलेक्ट्रिक बिएमडब्लु आई४५० को सफलतालाई पछ्याउँदै आई५ सेडानमा उच्च–कार्यक्षमता एम संस्करण र वागन संस्करण समावेश गरिने बिएमडब्लुले पुष्टि गरेको छ।
बिएमडब्लुले आई५ बाहेक आगामी पुनः डिजाइन गरिएको एक्स२ को अल–इलेक्ट्रिक भर्सन आईएक्स२ पनि रहने खुलासा गरेको छ। साथै आईएक्स२ यस वर्षको अन्तमा अनावरण गरिने नयाँ आईएक्स१ सँग सामेल हुने बताइएको छ। नयाँ ५ सिरिज सेडानको लचिलो पावरट्रेन आर्किटेक्चरले यसलाई शुद्ध विद्युतीय र प्लग–इन हाइब्रिड मोडलहरूका साथै ४८भी माइल्ड हाइब्रिड प्रणाली प्रदान गर्न अनुमति दिने उल्लेख छ।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार