Technology Khabar ३० फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा अनुसन्धानलाई जोड दिनुपर्ने बताएकी छन। त्यसका लागि सबै पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको पनि उनले बताईन्।
काठमाडौंमा सुरु भएको एशिया–प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले वैज्ञानिक अनुसन्धान, आविष्कार र नवपर्वर्तन विकासको मेरुदण्ड भएकाले अनुसन्धानमार्फत नयाँ प्रविधिहरू पत्ता लगाउन, नयाँ अवसरहरू पहिचान गर्न र जटिल समस्याहरू समाधान गर्न जोड दिनुपर्ने बताएकी हुन्।
‘हामीले अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन बढ्दै गएको छ। यसका लागि नेपाल सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार छ,’ मन्त्री शर्माले भनिन्।
सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले नेपालले यसबाट उच्चतम लाभ लिनसक्नुपर्ने उनले बताइन्।
‘हामी बर्षेनी हजारौको संख्यामा सूचना प्रविधिका दक्ष जनशक्तिहरु उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौँ । इन्टरनेटको पहुँच पनि उल्लेख्य मात्रामा बढिरहेको छ,’उनले भनिन, ‘तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै बिदेशका कामहरु समेत नेपालमा आउटसोर्स गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने छ।’
सरकारको तर्फबाट सूचना प्रविधिलाई व्यवस्थित गर्न सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षा लगायतको क्षेत्रमा जोड दिइरहेको उल्लेख गर्दै मन्त्री शर्माले आफ्नै भूउपग्रह र सफ्टवेयर निर्माणमा पनि पहल थालेको जानकारी दिईन्।
उनले सूचना प्रविधिलाई गुणस्तरीय बनाउने र आम जनताको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने नीति तथा यसका लागि आवश्यक लगानी बढाउनुपर्ने आवश्यकता भएको औंल्याईन्।
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार