चीनमा कारको मूल्य कटौती रणनितीले बजार बढाउँदै टेस्ला

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
चीनमा कारको मूल्य कटौती रणनितीले बजार बढाउँदै टेस्ला

काठमाडौं ।

टेस्लाले आफ्नो मूल्य घटाउने रणनीतिका कारण चीनमा आफ्नो कदम पुनः प्राप्त गरिरहेको छ। टेस्लाको घरेलु खुद्रा बिक्री फेब्रुअरीमा करिब २६ प्रतिशतले बढेको चाइना प्यासेन्जर एसोसिएसनको रिपोर्टले बताएको छ।

टेस्लाको गीगाफ्याक्ट्री सांघाईले फेब्रुअरीमा कुल ७४,४०२ इभीहरु डेलिभर गरेको र गत महिनामा ३३,९२३ युनिट खुद्रा बिक्री गरेको उल्लेख गरिएको छ।

गत जनवरीमा मात्रै ६ देखि १३ प्रतिशतको बीचमा रहेको मूल्य कटौतीका कारण कम्पनीको बिक्रीमा निरन्तर वृद्धि हुने विज्ञहरूले अनुमान गरेका छन्। कम्पनीले आफ्नो चीनमा निर्मित मोडल ३ र मोडल वाईका सबै संस्करणको मूल्यमा कटौती गरेको छ। मोडल ३ को प्रारम्भिक मूल्यमा १३.५ प्रतिशतले घटाएर हालको मूल्य २२९,९०० युआन (३३,५१५ अमेरिकी डलर) भएको र मोडल वाईको प्रारम्भिक मूल्य १० प्रतिशतले घटाएर २५९,९०० युआन (३७,८८९ अमेरिकी डलर) बनाइएको छ।

टेस्लाले आफ्नो बजार पुनः प्राप्त गर्न र सुस्त माग र सुस्त अर्थतन्त्रको बीचमा बिक्री बढाउनको लागि भनेर अक्टोबर २०२२ देखि यता कम्पनीले दुई पटक मूल्य घटाएको उल्लेख गरिएको छ। विश्वको सबैभन्दा ठूलो ईभी उपभोक्ता र अटोमोबाइल बजार भएकाले कम्पनीले चिनियाँ बजार गुमाउन नचाहेको उल्लेख गरिएको छ।

मूल्य घटाएको तीन दिन भित्रमा नै टेस्लाले ३०,००० नयाँ ईभीका लागि अर्डर प्राप्त गरेको थियो। दोस्रो चरणको मूल्य कटौती पछि टियर दुई र तीन शहरहरुमा उल्लेखनीय रुपमा मागमा वृद्धि देखिएको थियो। साथै केही स्टोरहरूले मूल्य कटौती पछि बिक्रीमा ५०० प्रतिशतले वृद्धि भएको देखाएको उल्लेख छ।

मूल्य कटौती यति महत्त्वपूर्ण हुन पुग्यो कि सो कारणले गर्दा धेरै जसो टेस्ला धनीहरूले कम्पनीको विरूद्ध विरोध नै गरेका थिए। कम्पनीले उनीहरूलाई बढी मूल्य भएका गाडीहरू दिएको र मूल्य कटौती पछि गाडीको भ्यालु उल्लेखनीय रूपमा कम हुन जाने उनीहरूले महसुस गरेका थिए।

शून्य कोभिड नीति र सुस्त अर्थतन्त्र लगायत विभिन्न कारणले गर्दा चीनमा गत वर्षदेखि ईभीको मागमा गिरावाट आएको थियो। यसबाहेक, बेइजिङले डिसेम्बर ३१ मा विद्युतीय सवारी खरिदमा १३ वर्ष लामो सब्सिडी समाप्त गरेको थियो। यस कारणले गर्दा इभी निर्माताहरूलाई थप दबाब पर्न गएको उल्लेख गरिएको छ। टेस्लाले चीनको ईभी बजारमा कुनै समय पूर्ण प्रभुत्व जमाएको थियो। तर अब कम्पनीले निओ, बीवाईडी, एक्सपेङ जस्ता घरेलु खेलाडीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।

यी सबै कारणहरूले गर्दा कम्पनीले आफ्नो ईभीको मूल्यमा उल्लेख्यनीय रुपमा मूल्य कटौती रणनिती अपनाएको बताइएको छ।

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...