काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले विद्युत लाईन काट्ने लगायतका गतिविधि नेपाल विद्युत प्राधिकरणबाट भएकोले गर्दा राज्यका कुनै पनि ठाउँ इन्टरनेट बिहिन हुन सक्ने चेतावनी दिएको छ।
इन्टरनेट बिहिन भएको अवस्थामा राज्यका हवाईजहाज, स्वास्थ्य, बैँक जस्ता अरु अति आवश्यक सेवाहरु ठप्प रहन सक्ने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले जानकारी गराएको हो।
संघले प्रेस विज्ञप्तीमार्फत यहि पुस ८ र ९ गते विद्युत प्राधिकरणबाट देशका विभिन्न ठाउँहरुमा दूरसञ्चार उपकरणहरुलाई क्षति पुग्ने गरी (दूरसञ्चार उपकरणहरु चलायमान राख्न नसकिने गरी) विद्युत लाईन काट्ने लगायतका गतिविधि गरेको बताएको छ।
यस्तो कार्यले राज्यका कुनै पनि ठाउँ इन्टरनेट बिहिन हुन सक्ने भन्दै इन्टरनेट बिहिन भएको अवस्थामा राज्यका अरु अति आवश्यक सेवा जस्तै हवाईजहाज, स्वास्थ्य, बैँक ठप्प रहन सक्ने कुरा इन्टरनेट सेवा प्रदायक संघ जानकारी गराउँदछ।
यसका साथै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा अवरोध भाडा विवादका कारण गरेको जानकारी दिएको छ, जुन कदम गैरकानूनी रहेको छ। नेपाल विद्युत प्राधिकरणले तिरि रहेको भाडा ५०० प्रतिशत वृद्धि गरेपश्चात ग्राहकलाई सो भार पर्न नदिन इन्टरनेट सेवा प्रदायकहरुले उच्च स्तरिय समितिले प्रतिवेदन दिएअनुसार कै हुनुपर्ने माग समेत गरेको छ।
इन्टरनेटको पहुँच र सेवा प्रवाहमा बाधा पुर्याउनु मानव अधिकार हनन् भएको भन्दै यसले दूरसञ्चार ऐन, २०५३ लाई आकर्षित गर्ने र राज्यको अति आवश्यक सेवालाई अवरोध गरेको मानिने उल्लेख छ।
“इन्टरनेट सेवा प्रदायकले पटक पटक नेपाल विद्युत प्राधिकरणलाई पत्र मार्फत पोल तथा ओपीजीडब्लु भाडादर विषयमा ताकेता गरिरहेको छ। राज्यको उच्च स्तरिय समितिले दिएको र नेपाल विद्युत प्राधिकरण आफैले सही छाप गरेको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आईस्पान नेपाल विद्युत प्राधिकरणलाई विनम्र अनुरोध गर्दछ।”विज्ञप्तीमा भनिएको छ।
यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको “अत्यन्त जरुरी सूचना” प्रति आईस्पानको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ।
प्रकाशित: ९ पुष २०७९, शनिबार