काठमाडौं ।
नेपाल दूरसञ्चार प्रधिकरणले यहि पुस १५ गतेदेखि पूर्णरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ।
प्राधिकरणले उक्त दिनपछि नेपालमा नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ गते देखि दर्ता नगरीने जनाएको छ।
प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रूपमा लागू गरेको एमडीएमएस पुस १५ गते देखि पूर्णरूपमा कार्यन्वयनमा आउने जनाएको छ।
यसका साथमा विदेशबाट आउने नेपालीहरुले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदौ भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ डिजिटको आईएमईआई नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुहुन अनुरोध गरेको छ।
“नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdmsnta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ,” प्राधिकरणले भनेको छ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गर्न सकिने हुँदा सोही अनुरुप एकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता/ विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्न समेत जानकारी गराएको छ।
प्रकाशित: ९ पुष २०७९, शनिबार