सूचना महामार्गमा बिछ्याइएको १० किलोमिटर अप्टिकल फाइबर गायब !

  • Technology Khabar | ९ पुष २०७९, शनिबार

काठमाडौं ।

ग्रामिण दूरसञ्चार विकास कोष(आरटीडीएफ) अन्तर्गत सञ्चालित सूचना महामार्ग पूर्वाधार निर्माण परियोजनामा बिछ्याइएको १० किलोमिटर अप्टिकल फाइबर हराएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको विवरणअनुसार बिछ्याइएको १० किलोमिटर अप्टिकल फाइबर गायब भएको देखिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको कात्तिकको विवरणअनुसार सूचना महामार्ग पूर्वाधार निर्माण परियोजनामा १ हजार ६५६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको थियो। तर प्राधिकरणको मंसिरको विवरणअनुसार जम्मा १ हजार ६४६ किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याइएको छ।

तर प्राधिकरणको दुई महिनाको विवरण तुलना गरेर हेर्दा अघिल्लो महिनाको तुलनामा पछिल्लो महिनामा १० किलोमिटर कम अप्टिकल फाइबर बिछ्याइएको देखिन्छ।

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई ३ ओटा प्याकेजहरु मार्फत अघि बढाइएको छ।

प्याकेज १ र प्याकेज ३ को ठेक्का सरकारी स्वामित्वको नेपाल टेलिकमले प्राप्त गरेको छ। प्याकेज २ युनाइटेड टेलिकमले प्राप्त गरेकोमा यस विषयको मुद्दा सर्वोच्च अदालतमा विचारधिन भएकाले ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।

प्याकेज १ अन्तर्गत प्रदेश नं.१, मधेस प्रदेश र बागमती प्रदेशमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ। सोही प्याकेजअन्तरगत मंसिरसम्ममा नेपाल टेलिकमले १ हजार ३२६ किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याएको छ। कात्तिक महिनामा पनि अप्टिकल फाइबर बिछ्याइएको प्रगति १ हजार ३२६ किलोमिटर नै थियो।

यस्तै प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ। यो प्याकेजमा कात्तिकमा ३३० किलोमिटर अप्टिकल फाइबर बिछ्याएको थियो। तर प्राधिकरणको मंसिरको विवरणमा जम्मा ३२० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको उल्लेख छ।

प्राधिकरणको विवरण हेर्दा कात्तिकमा भएको भौतिक प्रगतिको तुलनामा मंसिर महिनामा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याएको ठाउँबाट हराएको देखाउँछ।

यस विषयमा प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलसँग टेक्नोलोजीखबरले कुराकानी गर्दा प्राधिकरणको तथ्यांक विभागबाट प्राप्त भएको विवरणको आधारमा नै बिबरण प्रकाशित गरिएको जानकारी दिए।

२०७६ जेठमा धादिङको गल्छीबाट मध्यपहाडी लोकमार्गमा २ वर्ष भित्रमा सूचना महामार्ग निर्माण गर्नेगरी परियोजना शुरु गरिएको थियो। तर कोभिड १९ को महामारीलाई देखाएर ठेक्का अवधि २०८० बैशाखसम्मका लागि थप गरिएको छ।

सूचना महामार्ग परियोजना ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँमा सम्पन्न गर्नेगरी प्राधिकरणले सम्झौता गरेको हो। हालसम्म सूचना महामर्ग परियोजनामा २ अर्ब ९ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ९ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया