
काठमाडौं ।
अमेजनलाई ’नक्कली’ रातो सोल जुत्ताको विज्ञापनको लागि जिम्मेवार ठहराउन सकिने भएको छ। यो विज्ञापनले सम्भावित रूपमा डिजाइनर क्रिस्चियन लुबाउटिनको ईयु ट्रेडमार्कको उल्लंघन गर्ने बीबीसीले उल्लेख गरेको छ।
रातो सोल भएको अग्लो हिलहरू लुबाउटिनको सहमति बिना तेस्रो पक्ष विक्रेताहरूद्वारा अमेजनमा विज्ञापन गरिएका थिए।
युरोपेली संघको न्याय अदालतले अमेजन कुनै पनि ट्रेडमार्क उल्लङ्घनको लागि उत्तरदायी हुनसक्ने बताएको छ।
लुबाउटिनले प्लेटफर्मको बिक्री मोडेलले ‘जनतालाई भ्रमित’ गरिरहेको बताए। अमेजनले यो निर्णय अध्ययन गर्ने बताएको छ।
लक्जेम्बर्गको अदालतको प्रारम्भिक निर्णयले अमेजनलाई यसको साइटमा बेच्ने कुनै पनि नक्कली उत्पादनहरूको विज्ञापनको लागि सम्भावित रूपमा उत्तरदायी हुने बाटो स्पष्ट पारेको छ।
अमेजन र जुत्ता निर्माता लुबाउटिन बीच लामो समयदेखि विवाद चलिरहेको छ, जसको अग्लो हिल सामान्यतया कम्तिमा ६०० पाउण्ड स्ट्रलिङमा बिक्री हुन्छ।
अमेजनले नियमित रुपमा लुबाउटिनको सहमति बिना कम्पनीको रातो सोल जुत्ताका विज्ञापनहरू प्रदर्शन गरेको आरोप लगाउँदै बेल्जियम र लक्जमबर्गको अदालतमा सन् २०१९ मा दुई ओटा मुद्दा दायर गरेको छ।
दुई अदालतहरूले युरोपेली संघको न्यायालयको निर्देशन खोजेका थिए।
बिहीबारको आफ्नो निर्णयमा युरोपेली संघको न्यायालयले अमेजनलाई सम्भावित रूपमा प्रसिद्ध रातो सोल सहितको नक्कली जुत्ताको विज्ञापनका लागि कथित बौद्धिक सम्पत्ति उल्लंघनको लागि जिम्मेवार मान्न सकिने बताएको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार