
काठमाडौं ।
प्युठानमा राहदानी बनाउनका लागि अनलाइन फाराम व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। राहदानी बनाउनका लागि जिल्ला सदरमुकाम आउने प्रायः सेवाग्राहीले दैनिक निकै सास्ती बेहोर्दै आएका छन्।
राहदानी बनाउँदा पहिले राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने, अनलाइन फाराम भर्नुपर्ने, राजस्व जम्मा गरेपछि फाराम पेस गर्नुपर्छ। जसका कारण बिहान कार्यालय नखुल्दै सेवाग्राही जिल्ला प्रशासन कार्यालयको गेटमा लाइनमा बस्ने गर्छन्।
मल्लरानी गाउँपालिका-५ का विष्णु गन्धर्बले राष्ट्रिय परिचयपत्र बनाए पनि अनलाइन नखुल्दा फाराम भर्न मात्रै एक महिना लागेको गुनासो गरे। “अनलाइन भएपछि झन् सजिलो हुनुपर्ने हो,” उनले भने, “अनलाइन नै नखुल्दा ढिला हुने गरेको छ।”
अनलाइन प्रणालीबाट छिटोछरितो हुनुपर्ने सेवा उल्टै ढिला भएकोमा सेवाग्राही निराश देखिन्छन्। अनलाइन फारामका लागि समयमा नै ‘सर्भर नखुल्दा समस्या भएको व्यबसायी मगल शाही बताउँछन्।
“सर्भर नै नखुल्दा हामीले पनि सेवा दिन सकेका छछैनौं,” उनले भने, “दैनिकजसो यस्तै समस्या भइरहेको छ।”
टाढाबाट आउने व्यक्तिका लागि आर्थिकसँगै समय पनि अनावश्यक रूपमा खर्चिलो हुन पुगेको छ। जिल्ला प्रशासन कार्यालयबाट दैनिक ४० जनाको राष्ट्रिय परिचयपत्र बन्ने गर्दछ।गोरखापत्रबाट
प्रकाशित: ८ पुष २०७९, शुक्रबार