
काठमाडौं ।
आई८ (इल्युमिन८ क्रयू) पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) २०२२ नेपालको च्याम्पियन बनेको छ। काठमाडौंको भृकृतीमण्डमा बुधबार र बिहिबार खेलिएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै आई८ च्याम्पियन बनेको हो।
आई८ ले कुल १२ खेलमा १९० अंक हासिल गर्दै उपाधी उचालेको हो। आई८ले २ चिकेन डिनरसहित १०४ प्लेसमेन्ट प्वाइन्ट र ८६ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको हो।
पहिलो दिन आक्रमक शुरुवात गरेको लियो ग्याङस्टर १५८ अंकसहित दोस्रो स्थानमा रहन सफल भयो।
१३२ अंक प्राप्त गरेको एब्रप्ट स्लेयर तेस्रो स्थान हात पार्न सफल भयो।
पहिलो स्थानमा आउने टिमले १० हजार अमेरिकी डलर, दोस्रोमा आउने ५ हजार अमेरिकी डलर र तेस्रो हुने टिमले साढे ३ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। साथै शीर्ष ३ मा स्थान बनाउन सफल टिम पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशियाका लागि छनोट पनि भएका छन्।
यस प्रतियोगिताको कुल पुरस्कार राशी ३० हजार अमेरिकी डलर रहेको छ। बाँकी सहभागी टिमले अंक तालिकामा हासिल गरेको स्थानका आधारमा पुरस्कार राशी प्राप्त गरेका छन्।
प्रकाशित: ७ पुष २०७९, बिहीबार