बागमतीमा अनलाइन विज्ञापन नियन्त्रणमा चुनौती, सुचना प्रविधिमा वैदेशिक लगानी बढाउन सकिने सम्भावना

  • Technology Khabar | १ पुष २०७९, शुक्रबार
बागमतीमा अनलाइन विज्ञापन नियन्त्रणमा चुनौती, सुचना प्रविधिमा वैदेशिक लगानी बढाउन सकिने सम्भावना

काठमाडौं ।

बागमती प्रदेशमा सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी ल्याउन सकिने संभावना एक अध्ययनले देखाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनमा सेवा क्षेत्रअन्तरगत साइबर सुरक्षा तथा बौद्धिक अधिकार सम्पत्ति अधिकारको नीति कसिलो बनाई कार्यान्वयन गर्न सकेमा सुचना प्रविधिमा वैदेशिक लगानी बढाउन सकिने सम्भावना रहेको औंल्याएको छ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार शैक्षिक पूर्वाधार र सूचना प्रविधिमा पहुँच राम्रो रहेको तथा शिक्षामा निजी क्षेत्रको आकर्षण राम्रो रहेकोले काठमाडौं उपत्यका तथा चितवनलाई देशकै शिक्षाको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख छ।

त्यसैगरी अन्य प्रदेशको तुलनामा सुचना तथा संचारको पहुँच राम्रो रहेको यस प्रदेशमा शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा प्रवाहलाई डिजिटलाइज गरी आधारभूत सेवाको गुणस्तर वृद्धि तथा लाग्ने समय कम गर्न तथा पेपरलेस बनाउन सकिने सम्भावना रहेको बताएको छ।

त्यसैगरी सार्वजनिक यातायातमा भाडा भुक्तानीलाई डिजिटाइज गर्न सकिने सम्भावना रहेको छ। यस बाहेक मेडिकल टुरिजम पुँजी बजारलाई थप विस्तार गर्न सकिने सम्भावना रहेको उल्लेख छ।

यस बाहेक प्रदेशमा सुचना प्रविधिमा आधारित बिजनेस प्रोसेस आउटसोर्सिङ, तथ्यांक प्रशोधन, विदेशी आइटि कम्पनीको आइटि युनिट खडा गर्ने लगायतका संस्थाहरु फस्टाँउदै गएकोले सुचना प्रविधिमा रोजगारीको सम्भावना रहेको प्रतिवेदनमा दाबी गरिएको छ।

तर राष्ट्र बैंकले बागमती प्रदेशमा अवसरका साथसाथै चुनौती समेत रहेको देखाएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार युटिलिटी करिडोरको कार्यान्वयन गर्न, विद्युतीय फोहोर व्यवस्थापन (E- waste Management) एवम् डिजिटल तथ्यांकको सुरक्षित भण्डारण एवम् सञ्चालन गर्नु लाई प्रमुख चुनौती मानिएको छ भने युट्युव, टिकटक जस्ता अनलाइन प्लेटफर्ममा गरिएको विज्ञापनबाट अदृष्यरुपमा रकम बाहिरिन सक्ने भएकाले त्यस्ता अनौपचारिक माध्यमका कारोबारलाई नियन्त्रणमा राख्नु चुनौती मानिएको छ।

प्रदेश भित्रका प्रमुख पर्यटकीय गन्तव्यहरुमा निःशुल्क इन्टरनेट जस्ता आधारभूत सुविधा उपलब्ध गराइ ब्यागेज जाँच, पर्यटक प्रहरी, पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा, द्रुत उद्धार टीम तथा २४ सै घण्टा सम्पर्क गर्न सकिने हटलाइन नम्बरको व्यवस्था गर्न समस्या रहेको जनाएको छ।

बैंकले सेवाग्राहीको चाप बढी रहने सरकारी कार्यालयहरुमा इन्टरनेट, सफ्टवेयर, कम्प्युटर तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी छिटो छरितो सेवा प्रवाह गर्नुलाई पनि बागमती प्रदेशमा सेवा क्षेत्रमा रहेको चुनौतीअन्तरगत समावेश गरेको छ।

प्रकाशित: १ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार