
काठमाडौं ।
बीवाईडीले २०२३ देखि मेक्सिकोमा आफ्नो विद्युतीय सवारी साधन बिक्री गर्ने भएको छ। साथै २०२४ सम्ममा ३० हजार युनिट विद्युतीय सवारी साधन बिक्री गर्ने चिनियाँ ईभी निर्माता बीवाईडीको योजना छ।
आगामी वर्ष मेक्सिकोमा रहेका आठ डिलरहरु मार्फत कम्पनीले आफ्नो फुल्ली ईलेक्ट्रिक भर्जनको टाङ स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) र हान (सेडान) बिक्री गर्ने योजना रहेको रोयटर्सले उल्लेख गरेको छ।
बिक्रीको आधारमा विश्वकै ठूलो ईभी निर्माता बीवाईडीले २०२३ मा कुल १० हजार सवारी साधन बिक्री गर्ने आशा राखेको र त्यो संख्या वृद्धि गरी २०२४ सम्ममा २० हजार देखि ३० हजार पुर्याउने मेक्सिकोका लागि कन्ट्रि हेड झोउ जोउले बताए। कुल बजार सेयरको १० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको जोउले थप जानकारी दिए।
मेक्सिकोकोे अटोमोटिभ इन्डस्ट्री एसोेसिएनका अनुसार यस वर्षको पहिलो आठ महिनामा कुल ६ लाख ९३ हजार सवारी साधन बिक्री भएका थिए। ती मध्ये ३१ हजार सवारी साधन हाइब्रिड सवारी साधन थिए।
गत सेप्टेम्बरमा यूरोपमा बीवाईडीले तय गरेअनुसार टाङ र हानको प्री-सेल मूल्य ७२,००० यूरो थियो। वर्षमा थोरै मेक्सिकनहरुले मात्रै १० हजार डलरभन्दा बढी कमाउने मेक्सिकोको तथ्याङ्क विभागले बताएको छ। ईभीको बिक्री कर र आयात शुल्क कटौती गरी ईभीलाई मेक्सिकोमा सबैले चढ्न सक्ने बनाउने लक्ष्य कम्पनीको रहेको जोउले थप जानकारी दिए।
सन् २०३० सम्ममा मेक्सिकोमा उत्पादन हुने सवारी साधन मध्ये ५० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने सरकारी योजना रहेको मेक्सिन अधिकारीहरुले बताए।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार