
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको भूमिगत डक्ट केबलमा पहुँच दिन आग्रह गरेका छन्।
इन्टरनेट सेवा प्रदायकहरु छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले आजै एक प्रेस विज्ञप्तिमार्फत दूरसंचार सेवा प्रवाह गरिरहेका तारहरुका लागि छुटयाईको डक्ट (भूमिगत डक्ट/ Underground Infrastructure) को सहज पहुँचका लागि नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्दै आएको बताएका छन्।
बिसौं बर्षदेखि रहेको तारहरुको व्यवस्थापनको लागि अल्पकालिन समाधानबाट इन्टरनेट सेवा प्रदायक संघले कार्य गरिरहेको भन्दै दीर्घकालिन समाधानका लागि संघले पूर्वाधार कम्पनीका लागि नेपाल सरकारसँग लामो समयदेखि पहल गर्दै आएको बताएको छ।
यसैबीच इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तारहरुलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सहर सौन्दर्यता र जोखिम न्यूनीकरणलाई ध्यानमा राखी इन्टरनेट सेवा प्रदायक संघले देशका विभिन्न ठाउंहरु अल्पकालीन समाधानबाट तार व्यवस्थापन गर्दै आएको छ।
सोही अन्तर्गत राजधानीको मुटु सिंहदरबार वरिपरि चरणबद्ध व्यवस्थापन कार्य नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय(काठमाडौँ उपत्यका), नेपाल बिद्युत प्राधिकरण समेतको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थापन कार्य सुरु गरेका छन् । हाल फेज १ को कार्य पुतलीसडकदेखि रामशाहपथ हुँदै अघि बढी रहेको छ। त्यसैगरी बाँकि कार्य पनि तालिका अनुरुप रहने जानकारी दिएको छ।
संयुक्त राष्ट्र संघले ‘इन्टरनेट पहुँचलाई मानवअधिकारको रुपमा’ स्थापित गरिसकेको छ भने नेपाल सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा लिएको स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध नहुने गरी प्रयोगमा नरहेका तारहरु हटाएर, बञ्चिङ्ग लगायतका विधि/ उपायबाट तार व्यवस्थापन कार्य भईरहेको दाबी गरेको छ।
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार