
काठमाडौं ।
नेपाल दूरसंचार प्राधिकरणले आफ्नो वेबसाइटको सुरक्षाका लागि साइबर सेक्यूरिटी प्लेटफर्म बगभी सफ्टवेयर टेक्नोलोजीज प्रालिसँग सहकार्य गरेकोछ।
प्राधिकरणले आफ्नो वेबसाइटको सुरक्षा गर्न र भएका कमजोरीहरु सुधार गर्नका लागि इथिकल ह्याकरहरुको प्लेटफर्म बगभीसँग सहकार्य गरेको हो।
यस सहकार्यअन्तरगत प्राधिकरणको वेबसाइटको सर्भरमा क्लोन साइट सिर्जना गरिनेछ र त्यसमार्फत ह्याकरहरुले वेबसाइटमा भएका सुरक्षा त्रुटीहरु पत्ता लगाउनेछन्।
यसबाट आएको प्रतिवेदनको आधारमा प्राधिकरणले आफ्नो वेबसाइटको सुरक्षा सुधार गर्नेछ भने यसमार्फत ह्याकरहरुले नयाँ अनुभव लिनसक्ने बताईएको छ।
नेपालमा यस्तो कार्य निकै कम हुने गरेको र नेपाली इथिकल ह्याकरहरुको समेत क्षमता अभिवृद्धि गर्न सकिने दूरसञ्चार प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
“यसलाई हामीले आगामी दिनमा हामी अन्तरगतका अन्य दूरसञ्चार कम्पनीहरुलाई समेत सहभागी गराएर उपयोग गर्न सकिन्छ कि भन्ने योजनामा छौं,” उनले भने।
यो सम्झौताअन्तरगत बगभीले १ वर्षसम्म निशुल्करुपमा प्राधिकरणको वेबसाइटको सुरक्षा त्रुटीहरु पहिचान गर्नेछ।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार