
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ५८ करोड रुपैयाँ भन्दा बढीको टिभी आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म ५८ करोड ३ लाख ४० हजार रुपैयाँ बराबरको ३३ हजार ८२० यूनिट टिभी नेपाल आयात भएको हो।
सरकारले चुलिँदो ब्यापार घाटा र विदेशी रकमको संचिती बढाउनका लागि गत बैशाखदेखि ३२ इन्च माथिको टिभी आयातमा प्रतिबन्ध लगाएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म ८० करोड ९१ लाख ८८ हजार रुपैयाँ बराबरको ५८ हजार ६९ यूनिट टिभी आयात भएको थियो।
फिफा विश्वकपका कारण चालु आवमा टिभीको बिक्री बढ्ने व्यावसायीहरुको अपेक्षा थियो। तर ठूला टिभी आयातमा प्रतिबन्द हुँदा माग अनुसारको टिभी आपूर्ति गर्न नसकिएको व्यावसायीहरु बताउँछन्।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा टिभीको आयात २२ करोड ८८ लाख ४८ हजार रुपैयाँले घटेको छ। चालु आवमा टिभी आयात २७ हजार ९५१ यूनिटले घटेको देखिन्छ।
चालु आवको पहिलो तीन महिनामा नेपालमा भारतबाट सबैभन्दा धेरै टिभी आयात भएको छ।
भारतबाट २५ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको २० हजार ७२९ यूनिट टिभी आयात आएको हो।
चीनबाट ९ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको ६ हजार ९२७ यूनिट टिभी आयात भएको छ।
प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार