फेसबुकको मातृ कम्पनी मेटाले भन्यो- ‘नेपाली भाषामा पनि हामी कन्टेन्ट मनिटर गरिरहेका छौं’

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
फेसबुकको मातृ कम्पनी मेटाले भन्यो- ‘नेपाली भाषामा पनि हामी कन्टेन्ट मनिटर गरिरहेका छौं’

काठमाडौं ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुनसक्ने गलत सूचना र जानकारीहरु रोक्ने बारेमा छलफल शुरु गरेको छ। यसको लागि आयोगले सोशल मिडिया फेसबुकको मातृ कम्पनी मेटासँग छलफल गरेको छ।

आयोगले मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने मित्थ्या, भ्रामक सूचना एव‌ं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्नेबारे सोमबार आयोग कर्मचारीसँग फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका हुन्।

मेटाका प्रतिनिधिहरुलाई स्वागत गर्दै आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले फेसबुकबाट हुनसक्ने मित्थ्या, भ्रामक सूचना एव‌ं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्नका लागि सहयोग गर्न आग्रह गरे।

मेटाकी नीति तथा दक्षिण एशियाली निर्देशक आयशा हसनले फेसबुकबाट हुनसक्ने मित्थ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न निर्वाचनको लागि विशेष आयोग र मेटाको संयुक्तरुपमा च्यानल बनाउने बताईन्। उनले नेपाली भाषामा पोष्ट गरिने सामाग्रीहरु अनुगमन गर्न विज्ञ कन्टेन्ट मनिटरहरु भएको र स्थानिय भाषामा नै अनुगमन गरिरहेको बताईन्।

यसका साथै द्वेषपूर्ण अभिव्यक्ति अर्थात हेट स्पिचलाई पनि हेर्ने गरेको र त्यस्तो भेटिएमा रिपोर्ट गर्न उनले अनुरोध गरिन्।

“हामीलाई नेपाललगायतका केहि देशका प्रयोगकर्ताले रिपोर्ट नै गर्दैनन्। त्यसैले मित्थ्या, भ्रामक सूचना एव‌ं द्वेषपूर्ण अभिव्यक्ति बारेमा रिपोर्ट गर्नुस्,” उनले भनिन्।

यसको लागि कर्मचारीहरुलाई तालिमसमेत दिईने भएको छ।

आयोगकाअनुसार निर्वाचनको समयमा आचारसंहिता विपरित फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो। मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...