देशभर आइतबार मनोनयन दर्तासँगै निर्वाचनको प्रचार प्रसार सामाजिक सञ्जालमा

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
देशभर आइतबार मनोनयन दर्तासँगै निर्वाचनको प्रचार प्रसार सामाजिक सञ्जालमा

काठमाडौं ।

आगामी  मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भएको छ।

मनोनयन दर्ता खुला भएसँगै सामाजिक सञ्जालमा प्रचार प्रसार हुन थालेको छ। पार्टीका नेतासँगै स्वतन्त्र रुपमा उठेका व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाटै उम्मेदवारको घोषणा गर्दै भोट माग्न थालेका छन्।

पार्टीका नेताभन्दा स्वतन्त्र रुपका उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग अत्याधिक गरेको पाईन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट मनोनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका डा. बाबुराम भट्टराईलाई साथै लगेर गएका छन्।

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो, उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो, सबैको साथ र सहयोगको अपेक्षा !’

डा. भट्टराईकी छोरी मानषी यमि भट्टराईले काठमाडौं क्षेत्र न. ७ बाट प्रतिनिधि सभामा उम्मेदवार उठ्ने जानकारी दिदै वृद्ध वृद्धाबाट आर्शिवाद थापेको फेसबुकमा पोष्ट गरेकी छन्।

राष्ट्रिय सभाकी पूर्व सदस्य एवं एमाले केन्द्रीय सदस्य तथा गायीका र रेडियो नेपालकी पूर्व समाचार बाचिका कोमल ओलीले दाङ निर्वाचन क्षेत्र न. ३ बाट उम्मेदरवार दर्ता गरेको फेसबुकमा जनाएकी छन्।

उनले फेसबुक पोस्ट गर्दै भनिन्, “फोटो सहित सुखी नेपाली र समृद्व नेपाल निर्माण गरौं, भोट एमालेको सूर्य चिन्हमा दिऔं।”

दशैंको कोजाग्रत पूर्णिमाको दिन आइतबार माला, टिका र जमरा लगाएकी कोमलले टिकट लिँदै शपथ समेत खाएको भिडियो फेसबुकमा राखेकी छन्।

पूर्व सञ्चारकर्मी एवं स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफ्नो फेसबुक मार्फत विभिन्न जिल्लामा निर्वाचनको लागि सभामा जाने जानकारीसँगै ट्विटरमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेको जानकारी दिएका छन्।

उनले ट्विटरमा लेखेका छन्, “हामी कुनै नेताको चिनजान तथा रोजाइको आधारमा उम्मेदवार चयन हुने कुरीति हटाउन प्रयासरत भएकाले आफ्नो उम्मेदवार क्षेत्र चितवन क्षेत्र न. २. मा घण्टीलाई भोट दिउँ।”

यस्तै पूर्व पत्रकार प्रकाश पाठकले झापा क्षेत्र न. ३ बाट स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएको जनाउँदै सामाजिक सञ्जालमार्फत भोट मागेका छन्।

यस्तै चलचित्र निर्देशक, निर्माता तथा पुस्तक लेखक मनोज पण्डितले फेसबुकमा उल्लेख गरेका छन्,“अब बदल्नु छ, त्यसका लागि बदलिनु छ, त्यसपछि बनाउनुछ।”

उनले काभ्रेपलाञ्चोक २ निर्वाचन क्षेत्रबाट स्वतन्त्र खुला उम्मेदवार दर्ता गरेको पत्र सहितको फोटो राखेका छन्।

यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले फेसबुक र ट्विटर दुबैमार्फत काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी दिएको जनाउँदै डेंगी परिक्षणको अपिलसँगै सहयोग गर्न भिडियोमा उल्लेख गरेका छन्।

उद्योगी एवं नेपाली कांग्रेसकै नेता विनोद चौधरीले दशैंको शुभकामना दिँदै आफू राजनीतिमा लागेको, नवलपरासी पश्चिम १ बाट प्रतिनिधि सभाको उम्मेदवार भएको जनाउ दिएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालको महत्व थाहा पाउनेले सूचना तथा प्रचार प्रसारमा अनलाइनसँगै फेसबुक, ट्विटर र अन्य विभिन्न प्लेटफर्मबाट प्रचार गरेको पाइन्छ।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार